Sunday, July 13, 2025

मकाउमा नेपाली कामदारको मृत्यु

मकाउ, १२ जुलाई ।  वैदेशिक रोजगारीको क्रममा  मकाउमा रहनु भएकानेपाली कामदार श्री गंगा प्रसाद दाहालको मृतक शरीर स्थानीय आवासमा फेला परेको जानकारी  एनआरएनए मकाउ राष्ट्रिय समन्वय परिषद मकाउले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । यस दुःखद घटनाले मकाउमा कार्यरत नेपाली समुदायलाई ठूलो सदमामा पारेको छ। घटनाको तत्काल जानकारी पाएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउ शाखा र नेपाल महावाणिज्य दूतावास (हङकङ/मकाउ)ले मृतकका परिवार, मकाउ प्रशासनसँगसमन्वय गरी कानुनी र मानवीय सहयोग प्रक्रिया सुरु गरेको प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।  



NRNA मकाउले घटनाको तुरुन्त जानकारी पाएपछि मृतकका परिवार, मकाउ प्रशासन र नेपाल महावाणिज्य दूतावास (हङकङ/मकाउ) सँग निरन्तर सम्पर्क राख्दै आवश्यक कानुनी, प्रशासनिक र मानवीय सहयोगमा संलग्न छ। नेपाल महावाणिज्य दूतावासले घटनाको विवरण प्राप्त गरी लगत्तै मकाउ प्रशासन, सुरक्षा निकाय र प्रभावित परिवारसँग समन्वय गर्दै शव व्यवस्थापन, कानुनी प्रक्रिया र अन्य सहयोगका लागि पहल सुरु गरिसकेको प्रेस विंज्ञप्ति मार्फत् नेपाली समुदायलाई जानकारी गराएको छ । 

 प्रारम्भिक जानकारी अनुसार यो घटना सामान्य मृत्युभन्दा फरक प्रकृतिको देखिएको हुँदा मकाउ सरकारको अनुसन्धान विभाग (ब्युरो) ले विस्तृत जाँच सुरु गरेको छ। हामी अनुसन्धान प्रक्रियालाई पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न हुन दिनुपर्ने आवश्यकतालाई जोड दिन्छौं। यस संवेदनशील घटनाले सम्बन्धित परिवार, अनुसन्धान प्रक्रिया र नेपाली समुदायको भावनालाई प्रभाव पार्न सक्ने भएकाले हामी सम्पूर्णमा निम्न कुराहरूमा सहयोग गर्न आग्रह गर्दछौं साथै सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, टिकटक आदि) मा घटनाको अटकलबाजी, अफवाह वा भ्रम फैलाउने किसिमको सामग्री प्रकाशन वा साझेदारी नगर्नु हुन सबैलाई विनम्र अनुरोध गर्दछौं र अनुसन्धान प्रक्रियालाई अवरुद्ध गर्ने, परिवारजनलाई मानसिक कष्ट पुर्‍याउने वा सामुदायिक सद्भावलाई बिगार्ने कुनै पनि टिप्पणी वा विश्लेषण नगर्न गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद् मकाउले विज्ञप्ति मार्फत् अनुरोध गरेको छ । एनआरएनएले सबैलाई आधिकारिक सूचनाका लागि  गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद् मकाउ वा दूतावासको आधिकारिक सञ्चारमाध्यममात्र विश्वास गर्न आग्रह गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। उनीहरूले शव नेपाल फिर्ता गर्ने, कानुनी प्रक्रिया पूरा गर्ने र परिवारलाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि दोहोर्याएका छन्।  

No comments: