मकाउमा 'प्रथम मकाउ ग्राण्ड भलिबल प्रतियोगिता' आयोजना हुने
मकाउ, 4 मे। नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने उद्देश्यले मकाउको हाक सा वान (Hac Sa Wan) स्थित मकाउ ब्याप्टिष्ट कलेज (Macau Baptist College) मा आगामी मे ३१ तारिख आइतबार 'प्रथम मकाउ ग्राण्ड भलिबल प्रतियोगिता २०२६' आयोजना हुने भएको छ।
नेपाल भलिबल संघ मकाउको आयोजना तथा क्यारिटास मकाउ वैदेशिक कामदार सेवा (Caritas Macau Overseas Laborer Service) को सह-आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो। "खेल खेलौं स्वस्थ रहौं, प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयताको विकास गरौं" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रम बिहान ९:०० बजेदेखि राती ९:०० बजेसम्म चल्नेछ।
प्रतियोगिताको मुख्य प्रायोजक (Main Sponsor) मा उदय वाग्ले रहनुभएको छ भने फण्डासियो मकाउ (Fundação Macau) ले प्रायोजन गरेको छ। त्यसैगरी, युनाइटेड नेपाली डायस्पोरा (United Nepali Diaspora) ले कार्यक्रमलाई समर्थक (Supporter) को रूपमा सहयोग पुर्याएको छ।
प्रवासमा रहेका नेपाली खेलाडीहरूबीचको प्रतिभा प्रस्फुटन र राष्ट्रिय खेलको चौतर्फी विकासका लागि यो प्रतियोगिता एउटा महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ। आयोजकले मकाउ तथा हङकङमा रहेका सम्पूर्ण खेलप्रेमी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन हार्दिक अनुरोध गरेको छ।
