Tuesday, January 06, 2026

आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा

मकाउ,आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा हुँदा शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेरले राष्ट्रिय टिमबाट विश्वकपमै डेब्यू गर्ने अवसर पाएका हुन् । उनले अब नेपाली सिनियर टोलीका लागि पहिलो खेल नै विश्वकपमा खेल्न सक्नेछन् । शेर मल्लसँगै बसिर अहमदको पनि टिममा पुनरागमन भएको छ । बसिरले गत असारमा भएको लिग २ शृंखलापछिको टी-२० शृंखलामा खेलेका थिए । त्यसपछि भएको टी-२० विश्वकप छनोटम भने मौका नपाएका बसिर एनपीएलमा गरेको प्रदर्शनपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा अटाउन सकेनन् ।


एनपीएलमा चम्किएका शेर

          एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका शेरले लगातार दोस्रोपटक उपाधि पनि जिते । उपाधि मात्रै नभएर यो सिजन गज्जबको प्रदर्शन पनि गरेका थिए । यो सिजन सबैभन्दा बढी चर्चा जसको भयो ती शेर मल्ल नै थिए । शेरले अघिल्लो सिजनभन्दा धेरै निखारिएको प्रदर्शन गरे । लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुख्य पात्रमध्येका शेरले मिस्ट्री स्पीनमार्फत विपक्षी ब्याटरलाई समस्यामा पारेका थिए । पावरप्लेमै टोलीका लागि विकेट निकालेर दिए । कप्तान रोहित पौडेलले उनको भविष्य उज्जवल भएको प्रतिक्रिया समेत दिएका थिए । त्यही अनुरूप शेर विश्वकप खेल्ने टोलीमा पनि परेका छन् । तल्लोक्रममा ब्याटिङबाट योगदान दिन सक्ने उनी यस संस्करणको एनपीएलमा बलिङमा सबैभन्दा उत्कृष्ट रहे अनि १० खेलमा १७ विकेट लिएर संयुक्त रूपमा शीर्षस्थानमा रहेका थिए । उनको मिस्ट्री स्पिन वाङ्खडे स्टेडियमको पिचमा सहयोगी पनि बन्न सक्छ । यसअघि यू-१९ र नेपाल ‘ए’ बाट खेलिसकेका शेर अब राष्ट्रिय टोलीबाट पनि खेल्ने छन् ।

संकटका बेला नायक बन्न सक्ने बसिर

          विराटनगर किङ्सबाट दुई सिजन एनपीएल खेलेका बसिर अहमदले यसअघि पनि नेपाल ‘ए’ अनि राष्ट्रिय टोलीबाट भने खेलिसकेका छन् । निरन्तर टोलीमा स्थान बनाइराख्न भने सकेका थिएनन् ।यद्यपी उनले नेपाल ‘ए’ अनि घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट खेल्दा पनि मध्यक्रममा भरपर्दो ब्याटरका रूपमा आफूलाई प्रमाणित गरेका छन् । यस संस्करणको एनपीएलमा उनले ९ खेलमा १९१ रन बनाएका थिए । टिमलाई संकटबाट पार लगाउने क्षमता भएका बसिरले त्यस क्षमताअनुसारको प्रदर्शन पनि गरिसकेका छन् । कर्णाली याक्सविरुद्धको खेलमा उनले संघर्षपूर्ण अवस्थाबाट टिमलाई जित दिलाएका थिए । नेपालले हङकङमा भएको चारदेशीय टी-२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध ९२-८ को अवस्थामा पुगेपछि बसिरले नन्दन यादवसँग मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए तर नेपाल ३ रनले पराजित हुन पुग्यो ।


आदिल र कुशल परेनन्

नेपालका लागि टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका आदिल आलम र कुशल मल्ल भने विश्वकप खेल्ने टोलीमा परेनन् । आदिलको प्रदर्शन विश्वकप छनोटदेखि एनपीएलमा पनि राम्रो हुन सकेको थिएन । विश्वकप छनोटमा २ खेल खेल्दा १८ रन बनाएका आदिलले एनपीएलमा ८ खेलमा ९३ रन मात्र बनाउन सके । यस्तै कुशल मल्लले पनि पछिल्लो समय राम्रो लय देखाउन सकेनन् । विश्वकप छनोटमा ५ खेलमा ३३ रन मात्र बनाएका थिए । एनपीएलमा कुशल मल्लले ७ खेलमा ३० नटआउटको उच्च स्कोरसहित १३५ रन बनाए । १ विकेट मात्र लिन सके ।

No comments: