धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुला, ‘शिव चन्द्र’ को पनि दाबेदारी
काठमाडौँ संवाददाता , २१ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि सरकारले आवेदन खुला गरेसँगै पूँजीबजारमा नयाँ उत्साह देखिएको छ। यसैबीच, सेयर बजार विश्लेषकका रूपमा परिचित ‘शिव चन्द्र’ (पुरुषोत्तम राज चिमोरिया) ले पनि उक्त पदका लागि आवेदन दिने तयारी गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित रूपमा बजारको प्राविधिक तथा मौलिक विश्लेषण प्रस्तुत गर्दै आउनुभएका चिमोरिया विशेषगरी साना लगानीकर्तामाझ परिचित नाम हुनुहुन्छ। उहाँले एशियन क्यापिटल लिमिटेडमा करिब सात वर्ष प्रमुख लगानी अधिकृतका रूपमा कार्य गरी बजार संरचना र जोखिम व्यवस्थापनमा व्यवहारिक अनुभव हासिल गर्नुभएको छ।
यसअघि वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएपछि बोर्डको नेतृत्व तह रिक्त भएको थियो। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले सात दिनको म्याद राखेर नयाँ अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यताअनुसार उम्मेदवारले स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने र पूँजीबजार वा व्यवस्थापन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्ने प्रावधान छ।
लामो समयदेखि नेतृत्वविहीन रहेको बोर्डमा नयाँ अध्यक्षको आगमनसँगै बजारमा देखिएका नीतिगत अन्योल र सुधारका कामले गति लिने लगानीकर्ताहरूको अपेक्षा छ। संस्थागत अनुभव र बजारको प्रत्यक्ष ज्ञान भएका व्यक्तिहरूबीचको प्रतिस्पर्धाले यसपटकको नियुक्तिलाई थप चासोको विषय बनाएको छ।
