नेपालले घरेलु मैदानमा सिरिजको सुखद अन्त्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। ३१८ रनको बलियो लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा मात्र १९५ रनमा समेटिएपछि नेपालले ऐतिहासिक जित निकालेको हो।



नेपालको जितमा ब्याटिङ र बलिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन रह्यो। ब्याटिङतर्फ इशान पाण्डेले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले। उनले कप्तान रोहित पौडेल (४६ रन) सँग तेस्रो विकेटका लागि ११० रनको शतकीय साझेदारी गर्दै नेपालको इनिङलाई बलियो बनाएका थिए। खेलको अन्त्यतिर उपकप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ५९ रनको अर्धशतकीय योगदान दिए। त्यसअघि ओपनर आसिफ शेखले ४३ र कुशल भुर्तेलले २९ रन जोड्दै ६९ रनको ओपनिङ साझेदारी गरेका थिए।



बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २-२ विकेट बाँडे। सोमपाल कामीको भागमा १ विकेट रह्यो।
यता अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। अमेरिकाका अन्य ब्याटरहरूमा नेत्र केन्जिगेले २९, शयान जहांगिरले २७ र शेहान जयसुरियाले २६ रन जोडे। बलिङमा अमेरिकाका शुभम रञ्जनेले २ तथा मिलिन्द कुमार र रुशिल उगर्कारले १-१ विकेट लिएका थिए। यो जितसँगै नेपालले घरेलु मैदानमा सिरिजको सुखद अन्त्य गरेको छ।


No comments: