मकाउ, २३ जेठ। हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित १५ दिने ‘संघ शिक्षा वर्ग–२०८३’ शनिवार धुलिखेलमा सम्पन्न भएको छ । गत जेठ ९ गतेदेखि धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा सञ्चालित प्रशिक्षण वर्गमा देशभरिबाट स्वयंसेवक कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो । संस्कार, अनुशासन र राष्ट्रभक्तिको भावना जागृत गराउने उद्देश्यका साथ सञ्चालित यस विशेष प्रशिक्षणले सहभागी स्वयंसेवकहरूमा नयाँ ऊर्जा थपेको संघले जनाएको छ ।
समापन समारोहका प्रमुख अतिथि एवं पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले वर्गबाट प्रशिक्षित स्वयंसेवकहरूलाई आफूले सिकेको ज्ञानलाई मन, वचन र कर्मले व्यवहारमा उतार्न आह्वान गर्नुभयो । व्यक्ति, समाज र राष्ट्र धर्मनिरपेक्ष हुन नसक्ने उल्लेख गर्दै उहाँले सबैले आफ्नो धर्म निर्वाह गर्नैपर्ने र धर्मबाट च्युत हुन नहुने विचार व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख वक्ता एवं हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाशले संस्कारित युवाहरूले सेवाका माध्यमबाट समाजलाई संगठित गर्ने अपेक्षा हिन्दू समाजले राखेको र सोही अपेक्षा पूरा गर्न संघ तत्परताका साथ लागिपरेको बताउनुभयो ।
वरिष्ठ समाजसेवी तथा संघ शिक्षा वर्गका माननीय सर्वाधिकारी बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रमको आरम्भमा शिक्षार्थीहरूले आफूले सिकेको घोष, नियुद्ध, दण्ड, योग आदि शारीरिक कौशल प्रदर्शन गरेका थिए। १५ दिनसम्म सञ्चालित यस वर्ग अन्तर्गत जेठ १६ गते धुलिखेल नगरका आमाहरूको हातबाट ‘मातृभोजन’ ग्रहण गरिएको थियो भने जेठ २० गते पारम्परिक घोष (बाजा) को तालमा धुलिखेल नगरको परिक्रमा गर्दै आकर्षक पथसञ्चलन समेत आयोजना गरिएको थियो ।
शनिवारको औपचारिक समापन पश्चात् आइतबार (जेठ २४ गते) बिहान दीक्षान्त समारोह आयोजना गरी प्रशिक्षण वर्ग पूर्ण रूपमा सम्पन्न हुने आयोजकले जनाएको छ । यो बृहत् कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न माकजु समाज कल्याण संघका महासचिव चुनियालाल माकजु श्रेष्ठले वर्ग संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो भने धुलिखेल समाज नेपालका महासचिव एवं माकजु समाज कल्याण संघका उपाध्यक्ष गयानाथ माकजु श्रेष्ठले वर्गको प्रमुख संरक्षकका रूपमा विशेष योगदान पुर्याउनुभएको थियो ।


No comments:
Post a Comment