फिफाद्वारा एन्फा निलम्बन: खेलाडीहरूद्वारा नेतृत्वलाई व्यङ्ग्यात्मक ‘धन्यवाद’

मकाउ, २६ जुन । सर्वोच्च फुटबल नियामक निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली फुटबल खेलाडीहरूले एन्फा नेतृत्वको अनोठो शैलीमा विरोध गरेका छन्। नेपाली फुटबल खेलाडीको अगुवाइमा भेला भएका वर्तमान तथा पूर्व खेलाडीहरूले एन्फाको वर्तमान नेतृत्वलाई व्यङ्ग्यात्मक रूपमा धन्यवाद दिँदै विरोध जनाएका हुन्।
फोटो - हाम्रो खेलकुद

फिफाको प्रतिबन्धसँगै नेपाली फुटबल र खेलाडीहरूको भविष्य संकटमा परेको भन्दै खेलाडीहरूले आक्रोश व्यक्त गरेका छन्। एन्फाभित्रको बढ्दो आन्तरिक विवाद, खराब व्यवस्थापन र गैरजिम्मेवारपनका कारण देशले अन्तर्राष्ट्रिय मञ्चमा यो अपमान र क्षति ब्यहोर्नुपरेको उनीहरूको ठहर छ।
विरोधका क्रममा खेलाडीहरूले नेपाली फुटबललाई इतिहासकै गम्भीर दुर्दशा र निलम्बनको अवस्थासम्म पुर्‍याउन 'महत्त्वपूर्ण भूमिका' खेलेको भन्दै वर्तमान नेतृत्वमाथि तिखो व्यङ्ग्य प्रहार गरेका छन्। राष्ट्रका लागि रगत-पसिना बगाउने खेलाडीहरूको खेल जीवन अन्धकारतर्फ धकेलिएको भन्दै उनीहरूले यो परिस्थितिको पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।

फिफाको यस कडा कदमपछि नेपालले अब कुनै पनि अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैन। नेपाली फुटबल इतिहासकै यो संकटपूर्ण घडीका लागि जिम्मेवार पदाधिकारीहरूले तत्काल मार्गप्रशस्त गर्नुपर्ने र नेपाली फुटबल जोगाउन अब सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा पूर्व तथा वर्तमान खेलाडीहरूले जोड दिएका छन्। 
फोटो - हाम्रो खेलकुदको फेसबुक पेज

No comments: