विश्वकप फुटबलः गोलकिपर वोजिन्हाको ऐतिहासिक कीर्तिमान

मकाउ, १८ जुन । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को खेलमा काबो भर्डेका गोलकिपर वोजिन्हाले एक दुर्लभ ऐतिहासिक कीर्तिमान बनाएका छन् । अमेरिकाको जर्जियास्थित एटलान्टामा जुन १५ (असार १ गते) मा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनलाई ०-० गोलको रोमाञ्चक बराबरीमा रोक्दै काबो भर्डेले खेल अंक बाँडेको हो ।

गिनीज वर्ल्ड रेकर्ड्स (Guinness World Records) का अनुसार, ४० वर्ष १२ दिनको उमेरमा विश्वकपमा डेब्यु गरेका वोजिन्हा फिफा विश्वकपको इतिहासमै आफ्नो डेब्यु खेलमा 'क्लिन सिट' (खेलभरि कुनै गोल नखाई पोस्ट सुरक्षित राख्ने) राख्ने सबैभन्दा बढी उमेरका गोलकिपर बनेका छन् । यस ऐतिहासिक उपलब्धिसँगै उनी इजिप्टका भेट्रान गोलकिपर एसाम एल-हदारेपछि विश्वकपमा डेब्यु गर्ने इतिहासकै दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी समेत बनेका छन् ।

उपाधि दाबेदार स्पेन विरुद्धको खेलमा वोजिन्हाले विपक्षीका सातवटा कडा प्रहारलाई उत्कृष्ट बचाउ (सेभ) गर्दै आफ्नो टोलीको संकट टारेका थिए । स्टार खेलाडीहरूले भरिएको स्पेनले खेलभरि तीव्र दबाब सिर्जना गरे पनि वोजिन्हाको 'अभेद्य पर्खाल' लाई तोड्न सकेन । काबो भर्डेका लागि यो बराबरी र गिनीज बुकमा दर्ता भएको वोजिन्हाको कीर्तिमानी प्रदर्शन विश्वकप इतिहासकै सबैभन्दा गर्विलो क्षण बनेको छ ।

No comments: