मकाउ, ०८ जुन । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) लाई लापरवाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको कसुरमा प्रहरीले कारबाही गरेको छ। सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो सार्वजनिक भएपछि सर्वसाधारणबाट प्राप्त जनगुनासोका आधारमा प्रहरीले माननीय राईलाई आज कानुनी कारबाहीको दायरामा ल्याएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार उहाँलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम लापरबाहीका साथ सवारी चलाएको कसुर (दफा १६४ (१) 'ड' १८) अन्तर्गत कारबाही गरिएको हो ।
नेपाल प्रहरीले सार्वजनिक गरेको आधिकारिक विवरणमा भनिएको छ:
"सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।"
सर्वसाधारणलाई सचेत बन्न प्रहरीको अपिल
घटनालगत्तै प्रहरीले सडक सुरक्षा र ट्राफिक नियमको पूर्ण पालनाका लागि विशेष आग्रह समेत गरेको छ। यस्ता ट्राफिक नियमविपरीतका गतिविधिहरू नगर्न र नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रु महानुभावहरूलाई थप सचेत, सतर्क र जिम्मेवार बन्न प्रहरीले अनुरोध गरेको छ।

No comments:
Post a Comment