१८ वर्षमुनिका कोही पनि पार्टी सदस्य छैनन्, सञ्चारमाध्यममा आएका तथ्याङ्क प्रारम्भिक आवेदन मात्रै हो: रास्वपा

मकाउ, १ जुलाई । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण जारी गरेको छ । पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार १८ वर्षभन्दा कम उमेरका ३५ हजार २ सय ५७ जना व्यक्ति पार्टीको सदस्य रहेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू तथ्यपरक नरहेको स्पष्ट पारिएको छ।


रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुन तथा नेपाल पक्ष रहेको बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताप्रति आफ्नो पूर्ण प्रतिबद्धता दोहोऱ्याउँदै बालबालिकालाई राजनीतिक गतिविधिबाट पूर्ण रूपमा मुक्त राख्ने मान्यतामा दृढ रहेको बताएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २ उपदफा (ज) ले १८ वर्ष पूरा भएको व्यक्तिलाई मात्र साबालक मानेको र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (क) मा १८ वर्ष पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै रास्वपाले आफ्नो विधानको दफा १३ (क) बमोजिम पनि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्र पार्टी सदस्य हुन सक्ने स्पष्ट पारेको छ। तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य पार्टीको नीति, अभ्यास र उद्देश्य विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीको डिजिटल सदस्यता प्रणालीमा 'सदस्यता आवेदन (Application)', 'प्रमाणीकरण (Verification)' र 'अन्तिम स्वीकृति (Approval)' का फरक–फरक प्रशासनिक तथा प्राविधिक चरणहरू हुने रास्वपाले जनाएको छ । महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क प्रमाणित सदस्यहरूको नभई डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन विवरण (Self-declared application data) को समष्टिगत विश्लेषण मात्र भएको भन्दै यसलाई अन्तिम आधिकारिक अभिलेख (Verified Membership Record) मान्न नसकिने पार्टीको प्राविधिक स्पष्टीकरण छ।
सदस्यता आवेदन दिने क्रममा आवेदक स्वयंले विवरण प्रविष्ट गर्दा वि.सं. (Bikram Sambat) र ई.सं. (Anno Domini) पात्रो प्रणालीको गलत छनोट गरेको, जन्ममिति प्रविष्टिमा टाइपिङ त्रुटि भएको, वा जन्ममितिको सट्टा गल्तीवश हालको मिति (Current Date) प्रविष्ट गरेका कारण प्रणालीले प्रारम्भिक विश्लेषणमा आवेदकको उमेर वास्तविकभन्दा कम देखाएको पाइएको छ। हाल पार्टीको डिजिटल प्रणालीमा कुल ५ लाख २३ हजार ४ सय ६५ सदस्यता आवेदन परेकोमा ३ लाख ९० हजार ११२ सदस्यको विवरण नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा प्रमाणित भइसकेको र बाँकी आवेदनहरू प्रमाणीकरणको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ।
यस प्राविधिक त्रुटिलाई गम्भीरतापूर्वक लिँदै रास्वपाले सदस्यता प्रणालीको विस्तृत प्राविधिक तथा प्रशासनिक समीक्षा प्रारम्भ गरेको छ। भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिनका लागि १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत स्वतः पहिचान गरी रोक्ने (Automatic Validation & Validation Control), प्रमाणित भइसकेका अभिलेखको पुनः परीक्षण (Re-validation) गर्ने, र पात्रो प्रणाली सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुरक्षा तथा प्रणालीगत मार्गदर्शन (User Guidance) उपलब्ध गराउने जस्ता सुधारात्मक कदमहरू तत्काल कार्यान्वयन गरिने प्रतिवद्धता जनाइएको छ।
पर्याप्त परीक्षण र प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्याङ्क (Raw Data) महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम तथा सरोकारवालाहरूमा भ्रम र अन्योल उत्पन्न भएकोमा रास्वपाले दुःख व्यक्त गरेको छ। पार्टीले सम्पूर्ण विवरणको पुनः परीक्षण गरी आवश्यक संशोधन सहितको अद्यावधिक तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन र पारदर्शिताप्रति सदैव कटिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।

No comments: