त्रिशूली ३ 'ए' जलविद्युत् सेनाको नेतृत्वमा रातभर उद्धार जारी

मकाउ ३१, अगस्ट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोटस्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना परिसर र यसका मुख्य संरचनाहरू पूर्ण रूपमा पुरिएका छन्। बाढीले प्रभावित क्षेत्रमा मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा आज पनि रातभर उद्धार तथा खोजी कार्य जारी राखिने भएको छ।
अविरल वर्षासँगै आएको बाढी र पहिराले आयोजनास्थलसम्म पुग्ने सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरेको छ। त्यस कारण नेपाली सेनाको हेलिकप्टरमार्फत स्काभेटर र विशेष प्राविधिक टोलीलाई घटनास्थलमै पुर्‍याएर अवरुद्ध बाटो खुलाउने र क्षेत्र सफा गर्ने कार्यलाई तीव्रता दिइएको छ।

हाल जमिनको सतहबाट करिब १० देखि १२ मिटर गहिराइमा रहेको सुरुङमार्ग (टनेल) को माथिल्लो भाग अर्थात 'क्राउन हेड' बाटो र लेदोले पुरिएकाले सोही स्थानलाई केन्द्रित गरेर खन्ने काम भइरहेको छ। सुरुङको क्राउन हेडबाट मानिसहरू भित्र छिर्न सक्ने गरी प्वाल बनाउन कुल ३ वटा स्काभेटरहरू परिचालन गरिएको छ। जसमा यसअघि खोलामा खसेको एउटा स्काभेटरलाई समेत सकुशल बाहिर निकालेर उद्धार कार्यमा जुटाइएको छ।
प्राविधिक टोलीका अनुसार पानीको निकाससहित करिब ३० देखि ४० मिटर चौडाइमा थुप्रिएको माटो, गेग्रान र बालुवा खनेर हटाएपछि मात्र सुरुङभित्र प्रवेश गर्न सकिने अवस्था बन्नेछ। परिचालित ३ वटै स्काभेटरहरूले निरन्तर रूपमा काम गरिरहे पनि सुरुङको मुख्य भागसम्म पुग्न अझै करिब ६ देखि ७ घण्टા लाग्ने अनुमान गरिएको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै उद्धारमा खटिएको टोलीले आज रातभर नै निरन्तर रूपमा उद्धारको प्रयास जारी राख्ने निर्णय गरेको छ।

No comments: