मकाउ, १० सितंबर ! चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिँदै सुरुङभित्र जीवनको सम्भावना अझै जीवित रहेको निष्कर्ष निकालिएको छ। आयोजनाका साइटमा कार्यरत इञ्जिनियर श्रीराम न्यौपानेले फेसबुक मार्फत सार्वजनिक गर्नुभएको पछिल्लो जानकारी अनुसार, विद्युत जडानमा ढिलाइ, पहिरो, दलदल र ब्लास्टिङ गतिविधिका कारण हिजो सुरुङको मुखसम्म सडक विस्तार गर्न केही कठिनाइ भए पनि आज थप दुईवटा एक्साभेटर घटनास्थलमा पुगेका छन्। सडक सुरुङको मुखबाट करिब ४० मिटर नजिक पुगेकाले अब उद्धार कार्यले तीव्र गति लिने विश्वास गरिएको छ। हाल नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले म्यानुअल (हातैबाट) लेदो पन्छाउने तथा सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको छ।
धुन्चेमा प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत प्राधिकरणका इञ्जिनियर, नेपाली सेना, इञ्जिनियर सागर ढकाल र इञ्जिनियर न्यौपाने लगायतको टोलीबीच भएको छलफलमा सुरुङभित्र पानी र लेदोको उच्च चाप तथा ब्लास्टिङको जोखिमबारे विभिन्न कोणबाट समीक्षा गरिएको थियो। बैठकमा प्राधिकरणका इञ्जिनियरले सुरुङभित्र प्रतिसेकेन्ड करिब ९ लिटर पानी चुहिरहेको र २४ हजार घनमिटर पानी चापमा जम्मा भएको हुन सक्ने भन्दै काम जोखिमपूर्ण रहेको तर्क प्रस्तुत गरेका थिए। तर, १२ वर्षको ब्लास्टिङ अनुभव भएका इञ्जिनियर न्यौपानेले भने आवश्यक सावधानी अपनाएर कन्ट्रोल ब्लास्टिङ गर्दा उद्धारको गति बढ्ने स्पष्ट प्राविधिक धारणा राख्नुभएको थियो। पावर हाउसको डिजाइन, ड्रइङ र धरातलीय अवस्थालाई विश्लेषण गर्दा त्यति ठूलो परिमाणमा पानी ट्र्याप भएर बस्ने सम्भावना नरहेको तथा चुहिरहेको पानी टेलरेस सुरुङतर्फ निकास भइरहेको प्रमाणसहितको प्राविधिक तर्क पेस गरिएको थियो।
छलफलपछि सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ र विशेषज्ञहरूको समेत रायसहित सुरुङको क्राउनबाट लेदो पन्छाउँदै र ब्लास्टिङ गतिविधिलाई समेत निर्वाध रूपमा निरन्तरता दिँदै उद्धार कार्य अघि बढ्ने निष्कर्ष निकालिएको छ। पावर हाउसको माथिल्लो भागमा मानिसका लागि ९२ वटा ठूला ब्याट्री, खाद्यान्न सामग्री र करिब १,००० लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी प्राप्त भएको छ। बाढीका कारण माथिल्लो भागमा थुनिएको हावा (अक्सिजन) को अवस्था कायम रहेको खण्डमा सुरुङभित्र फसेका ६ जना मानिसहरू ३ देखि ४ हप्तासम्म पनि जीवित रहन सक्ने प्राविधिक विश्लेषण गरिएको छ। तसर्थ, उद्धारको आशा नमारेर प्राविधिक विवेककासाथ अन्तिम समयसम्म प्रयास जारी राख्नुपर्नेमा जोड दिइएको छ।

No comments:
Post a Comment