मकाउको राहदानी अवरोधबारे परराष्ट्रमन्त्रीसँग पहल - उदय खत्री

Friday, October 30, 2026 • Ram Prasad Panta

मकाउ, ३० अक्टूबर! मकाउमा रहनुभएका अभियन्ता उदय खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का शीर्ष नेताहरूलाई भेट गरी मकाउमा वैदेशिक रोजगारीको सिलसिलामा रहनु भएका  नेपालीले भोग्नुपरेका चुनौती र समग्र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनु भएका नेपाली समुदायका चुनौती र समस्याका विषयमा ध्यानाकर्षण गराउनुभएको छ।

दुई दिने काठमाडौँ बसाइका क्रममा खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का  उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, उपसभापति तथा कानुनमन्त्री सोविता गौतम, महामन्त्री विपिन कुमार आचार्य, बागमती प्रदेश सहमहामन्त्री स्वस्तिका लामिछाने, र केन्द्रीय सदस्य मिलन लिम्बुसँग भेट गर्नुभएको थियो। त्यसैगरी उहाँले प्रवास विभाग प्रमुख मानिश झा, परराष्ट्रमन्त्री शिशिर खनाल र शिक्षामन्त्री शस्मित पोखरेलसँग पनि भेट गरी प्रवासका चुनौती, देश-प्रदेशको स्थिति र जल्दाबल्दा विषयमा छलफल गर्नुभएको थियो। भेटघाटको समन्वय रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्कीले गर्नुभएको थियो। 

वैदेशिक रोजगारीका क्रममा नेपाली प्रवासीले भोग्नुपरेका श्रम, कानुनी तथा सेवा सम्बन्धी चुनौतीहरू प्रस्तुत गरिएको थियो। आगामी १५-२० वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरी देशभित्रै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। यसैबीच नयाँ सर्भर सञ्चालनमा आएपछि मकाउबाट राहदानी फारम /सीभीआई र हङकङ कन्सुलर सेवाको प्रणालीमा पहुँच हुन नसक्दा सयौँ नेपाली सेवाग्राही प्रभावित भएका थिए।

यस विषयमा  खत्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी प्राविधिक समस्याबारे विस्तृत जानकारी गराउनुभएको हो। उक्त पहलपछि आगामी नोभेम्बर ७ तारिखका दिन हङकङबाट कन्सुलर सेवा टोली मकाउ आउने प्रक्रिया निश्चित भएको उहाँले जानकारी दिनुभएको छ।

टिप्पणीहरू

Please,Comment what you think about post thing ?