नेप्से प्रमुखमा प्रताप सुवेदीलाई नियुक्त

Wednesday, November 04, 2026 • Ram Prasad Panta
मकाउ, ०४ सितंबर ! नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले नियुक्तिको पुष्टि गर्नुभएको छ।

नेप्सेको नेतृत्वका लागि आठ जनाले आवेदन दिनुभएको थियो। तीमध्ये अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी गरी चार जना अन्तिम प्रतिस्पर्धाका लागि संक्षिप्त सूचीमा पर्नुभएको थियो। छनोट समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएपछि उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो मन्त्रिपरिषद्को निर्णयपछि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारी र निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले व्यक्तिगत कारण देखाउँदै गत असार २२ गते पदबाट राजीनामा दिनुभएपछि नेप्से करिब चार महिनादेखि निमित्त नेतृत्वका भरमा सञ्चालन हुँदै आएको थियो। नवनियुक्त सीईओ सुवेदी कृषि विकास बैंक लिमिटेडका बहालवाला नायब महाप्रबन्धक हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ र कृषि विकास बैंकमा तीन दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ। नेपाल राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरिसक्नुभएका सुवेदीलाई सरकारले चार वर्षका लागि नियुक्त गरेको हो।
सुवेदीको नियुक्ति यस्तो समयमा भएको छ, जतिबेला नेपालको पुँजी बजारमा संस्थागत सुदृढीकरण, प्रविधिगतस्तरमा आधुनिकीकरण, बजार पूर्वाधार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिको माग बढ्दो छ।

टिप्पणीहरू

Please,Comment what you think about post thing ?