नेपाल र भारतबीच दृष्टिकोणपत्र जारी

Monday, November 23, 2026 • Ram Prasad Panta

नयाँ दिल्ली, ८ मङ्सिर ( ऐजेन्सी) प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका अवसरमा नेपाल र भारतबीच द्विपक्षीय साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ (विक्सित भारत एन्ड समुन्नत नेपाल : रि-इम्याजिनिङ द पार्टनरसिप) नामक १० बुँदे संयुक्त दृष्टिकोणपत्र जारी गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच नयाँ दिल्लीमा भएको सौहार्दपूर्ण एवं फलदायी द्विपक्षीय वार्तापछि उक्त दृष्टिकोणपत्र सार्वजनिक गरिएको हो।

संयुक्त दृष्टिकोणपत्रमा दुई देशबीचको युगौँ पुरानो सभ्यतागत तथा जनस्तरको सम्बन्धलाई समकालीन राजनीतिक, आर्थिक र प्राविधिक यथार्थअनुरूप अझ आधुनिक र नतिजामुखी बनाउने उल्लेख छ। सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने तथा जलस्रोत, ऊर्जा, व्यापार, वाणिज्य र सीमासम्बन्धी सबै बाँकी विषयहरू आपसी छलफल र संवादमार्फत समाधान गर्ने सहमति दुई नेताबीच भएको छ।
गत साउन/भदौ (अगस्ट २०२६) मा रसुवा–त्रिशूली बेसिनलगायतका क्षेत्रमा गएको बाढी तथा पहिरोपछि भारतले गरेको तत्काल मानवीय तथा खोज–उद्धार सहयोगप्रति नेपालले आभार व्यक्त गरेको छ भने पुनर्निर्माणमा थप सहयोगका लागि निरन्तर सम्पर्कमा रहने सहमति भएको छ।
विशेषगरी युवा पुस्ताको आकाङ्क्षालाई केन्द्रमा राख्दै दुवै देशका प्रधानमन्त्रीले द्विपक्षीय साझेदारीको भविष्यको मार्गचित्रका रूपमा देहायका १० वटा मुख्य आधारस्तम्भ (पिलर्स) अंगीकार गर्नुभएको छ :

१. बृहत् आर्थिक तथा विकास साझेदारी भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’ को राष्ट्रिय आकाङ्क्षालाई जोड्दै भारतले नेपाललाई रु २४० अर्ब (भारु १५ हजार करोड) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये रु ५६ अर्ब (भारु ३ हजार ५०० करोड) विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान सहायता रहनेछ भने रु १८४ अर्ब (भारु ११ हजार ५०० करोड) ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) उपलब्ध गराइनेछ। यस्तै, सीमा क्षेत्रमा निर्यातमुखी उत्पादनका लागि विशेष आर्थिक क्षेत्र (सेज) तथा आईटी पार्क स्थापना गर्ने, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने र भारतीय लगानी प्रोत्साहन गर्ने सहमति भएको छ।
२. भौतिक तथा डिजिटल कनेक्टिभिटी दुवै प्रधानमन्त्रीले भारतको अयोध्या र नेपालको जनकपुरबीच सिधा एक्सप्रेस रेल सेवा तथा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल सञ्चालनको स्वागत गर्नुभएको छ। साथै, भैरहवा–सुनौली एकीकृत जाँच चौकी (आईसीपी) को निर्माण तीव्र पार्ने, बनबासा–दोधारा चाँदनीमा नयाँ आईसीपी निर्माण गर्ने, जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गको अन्तिम खण्ड छिटो सम्पन्न गर्ने सहमति भएको छ। रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) पूरा भएको स्वागत गर्दै पूर्व–पश्चिम रेलमार्ग (विशेषगरी बर्दिबास–निजगढ र वीरगन्ज–निजगढ खण्ड) निर्माणमा सहकार्य गर्ने, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने र ग्यास पाइपलाइनको सम्भावना खोज्ने सहमति भएको छ। भारतको यूपीआई र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीको आबद्धतालाई विस्तार गर्दै सीमापार खुद्रा भुक्तानी कार्यान्वयनलाई तीव्रता दिइनेछ।

३. ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता नेपालको जलविद्युत् तथा प्रसारण लाइन पूर्वाधारमा भारतीय लगानी प्रोत्साहन गर्ने, विद्युत् व्यापार विस्तार गर्ने तथा पञ्चेश्वर र सप्तकोशी–सुनकोशी बहुउद्देश्यीय परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ। विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, हिमताल अनुगमन तथा जल–मौसमजन्य तथ्याङ्कको वास्तविक समयमा आदानप्रदानलाई संस्थागत गरिनेछ। नेपालमा हरित हाइड्रोजन (ग्रिन हाइड्रोजन) को नमुना परियोजना सञ्चालन गर्नसमेत सहकार्य हुनेछ।
४. सुशासन ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि डिजिटल परिचय, भुक्तानी र ई–गभर्नेन्सको क्षेत्रमा प्राविधिक विज्ञता आदानप्रदान गरिनेछ। भारतको राष्ट्रिय सुशासन केन्द्रमार्फत नेपाली निजामती कर्मचारीलाई तालिम दिइनेछ भने सङ्घीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधि तथा निकायबीच अनुभव आदानप्रदान गरिनेछ।
५. प्रविधि, अन्तरिक्ष र नवप्रवर्तन नेपाललाई प्रविधि हब बनाउने लक्ष्यअनुरूप ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ विस्तार गरी काठमाडौँमा ‘स्टार्टअप सेन्टर अफ एक्सिलेन्स’ र पोखरामा ‘डिजिटल नोम्याड्स एन्ड इनोभेसन हब’ स्थापना गरिनेछ। डिजिटल पार्क तथा डाटा सेन्टर निर्माणका साथै भारतको ‘भाषिणी’ सँगको सहकार्यमा नेपाली भाषाका लागि ‘लार्ज ल्याङ्ग्वेज मोडल’ (एआई) विकास गरिनेछ। यस्तै, नास्ट र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) बीच भू–उपग्रह विकास र विपद् व्यवस्थापनमा सहकार्य हुनेछ।

६. शिक्षा तथा सीप विकास नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) बाट सुरु गरी भारतका प्रतिष्ठित उच्च शैक्षिक संस्थाका शाखा खोल्ने सम्भावना खोजिनेछ। कानुन, प्रविधि र एआई जस्ता नयाँ विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति थप गरिनेछ भने उत्पादन, सेवा र उद्यमशीलताका क्षेत्रमा युवाहरूलाई सीप सिकाउन भारतीय सहयोगमा व्यावसायिक तालिम केन्द्र स्थापना गरिनेछ।
७. खेलकुद नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार निर्माणमा भारतले सहयोग गर्नेछ। नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय एकेडेमीमा प्रशिक्षणको अवसर दिइनेछ। ब्याडमिन्टन, टेनिस, सुटिङ, एथलेटिक्स र पर्वतीय खेलकुदमा सहकार्य गर्नुका साथै दुवै देशका खेलकुद लिगमा एक–अर्काका खेलाडी सहभागी गराउन प्रोत्साहन गरिनेछ।
८. संस्कृति तथा पर्यटन जनकपुर–अयोध्या जोड्ने रामायण सर्किट, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर जोड्ने बौद्ध सर्किट र काठमाडौँ (पशुपतिनाथ)–वाराणसी जोड्ने शिव–शक्ति सर्किटको विकास गरिनेछ। नेपाल र भारतमा पालैपालो वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गरिनेछ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरिनेछ।
९. स्वास्थ्य उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत स्वास्थ्य चौकी, बर्थिङ सेन्टर र अस्पताल निर्माणलाई निरन्तरता दिइनेछ। नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति, सस्तो र गुणस्तरीय औषधिका लागि ‘भारत–नेपाल जनऔषधि केन्द्र’ स्थापना तथा चिकित्सा अनुसन्धान र औषधि नियमनकारी निकायबीच सहकार्य सुदृढ गरिनेछ।
१०. कृषि नेपाली कृषि उपजको मूल्य अभिवृद्धिका लागि भारतको अनुदान सहयोगमा चितवनमा ‘कृषि–औद्योगिक पार्क’ (एग्रो–इन्डस्ट्रियल पार्क) स्थापना गरिनेछ। सन् २०२६–२०३० को कार्ययोजना छिटो कार्यान्वयन गर्नुका साथै नेपालमा ‘आईसीएआर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरी किसान र कृषि प्राविधिकलाई तालिम प्रदान गरिनेछ।
कार्यान्वयन संयन्त्र संयुक्त दृष्टिकोणपत्रमा समेटिएका परियोजना तथा सहमतिहरूको शीघ्र कार्यान्वयन सुनिश्चित गर्न नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा रहेको ‘उच्चस्तरीय अनुगमन समूह’ लाई सक्रिय बनाउने निर्णय दुई प्रधानमन्त्रीले गर्नुभएको छ। उक्त समूहले कम्तीमा छ महिनामा एकपटक बैठक बसी दुवै देशका परराष्ट्रमन्त्रीको सह–अध्यक्षतामा रहने ‘नेपाल–भारत संयुक्त आयोग’ समक्ष प्रतिवेदन पेस गर्नेछ। संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा बस्ने सहमति भएको छ। 

टिप्पणीहरू

Please,Comment what you think about post thing ?