भारतसँग नयाँ ढंगको सहकार्य र स्पष्ट दृष्टिकोणको खोजीमा छौँ : रास्वपा सभापति लामिछाने

मकाउ, २१ जेठ ! सत्तरुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन स्पष्ट दृष्टिकोण र नयाँ ढंगको सहकार्यको सम्भावना खोजी गर्न आफू भारत भ्रमणमा आएको बताउनुभएको छ।
पाँच दिने औपचारिक भारत भ्रमणको चौथो दिन आज नयाँ दिल्लीमा प्रवासी नेपाली समुदायद्वारा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताउनुभएको हो। उहाँले विगतमा के भयो वा के भएन भन्ने कुरामा अल्झिनुभन्दा पनि अबका दिनमा दुई देशबीच पारस्परिक हित, विश्वास र आधुनिक सोचका साथ नयाँ ढंगले सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। भारत भ्रमणका क्रममा आफूलाई प्राप्त भएको स्वागत र सम्मान व्यक्तिगत नभई सम्पूर्ण नेपाली नागरिक र नेपाल राष्ट्रकै सम्मान भएको उहाँको भनाइ थियो।

राष्ट्रिय राजनीति र सरकारको भूमिकाबारे चर्चा गर्दै पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेले देशमा दशकौँदेखि चल्दै आएको राजनीतिक भागबण्डाको बेथिति र युगलाई अन्त्य गर्नकै लागि रास्वपा सरकारमा सामेल भएको दाबी गर्नुभयो। देशलाई विद्यमान संकटबाट निकास दिनु र सुशासन कायम गर्नु नै आफ्नो पार्टीको मुख्य ध्येय रहेको उहाँले स्पष्ट पार्नुभयो। चार वर्षअघि मात्र परिकल्पना गरिएको राजनीतिक परिवर्तनको सपना अहिले साकार हुँदै झण्डै दुई तिहाइ बहुमतको बलियो सरकार बनेको उल्लेख गर्दै उहाँले आम नागरिकलाई सकारात्मक परिवर्तनका लागि सपना देख्न कहिल्यै नछाड्न आग्रह गर्नुभयो।
प्रवासी नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सभापति लामिछानेले नेपालमा रहेका आफ्ना परिवार र आफन्तलाई ‘घण्टी’ चिन्हमा मतदान गर्न प्रेरित गर्ने प्रवासी नेपालीहरूको विश्वास र वचनलाई कुनै पनि हालतमा खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। वर्तमान सरकारको नियत र उद्देश्यमा शंका गर्ने ठाउँ नरहेको जिकिर गर्दै उहाँले यदि सरकारले कतै बाटो बिराएमा वा खराब काम गरेमा देश–विदेशमा रहेका सबै नेपालीले सदैव खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो।
भ्रमणका क्रममा हिजो मात्र सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा दुई पक्षीय हित, आपसी चासो र नेपालको विकास प्राथमिकताका विविध विषयमा फलदायी छलफल भएको बताइएको छ। पाँच दिने भ्रमणका महत्वपूर्ण भेटघाटहरू सम्पन्न गरी रास्वपा सभापति लामिछाने भोलि स्वदेश फर्कने कार्यतालिका रहेको छ।

No comments: