प्रविधि समाचार, टिप्स, समीक्षा र ज्ञानको साझा चौतारी | रातो र नीलो रङ्गमा Tech-Chautari
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा सिर्जना थपलिया
मकाउ, २२ जेठ । गृह मन्त्रालयको मिति २०८३।०२।१३ र २२ गतेको निर्णयानुसार राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का कर्मचारीहरूको व्यापक पदस्थापन तथा सरुवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा सहसचिव सिर्जना थपलियालाई जिम्मेवारी सुम्पिएको छ। संखुवासभाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा कार्यरत थपलियालाई मन्त्रालयको पछिल्लो निर्णयबमोजिम मुलुकको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको कमान्ड सम्हाल्ने जिम्मेवारी दिइएको हो।विमानस्थल अध्यागमनका निवर्तमान प्रमुख सहसचिव नरहरि घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएपछि सो पद रिक्त रहेको थियो। नेपालको प्रशासनिक 'चेहरा' मानिने यस संवेदनशील निकायमा घिमिरेको कार्यकालमा केही प्रणालीगत सुधारका प्रयास भए पनि भिजिट भिसा, अवैध आवागमन र 'सेटिङ' का पुराना विवादहरू पूर्ण रूपमा अन्त्य हुन सकेका यसअघि तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यागमन कार्यालय थप विवादको घेरामा तानिएको थियो। यही पृष्ठभूमि र मन्त्रालयको नयाँ सरुवा सूचीका बीच प्रशासनिक वृत्तमा युवा, कार्यक्षमता र दृढ निर्णय क्षमता भएकी अधिकारीका रूपमा परिचित थपलियालाई यो महत्त्वपूर्ण जिम्मेवारीमा ल्याइएको हो। विदेशी नागरिकको आगमन र प्रस्थानको पहिलो तथा अन्तिम सरकारी बिन्दु भएकाले यहाँको पारदर्शिता, अनुशासन र सुशासनले देशको अन्तर्राष्ट्रिय छविमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। अध्यागमनमा देखिँदै आएका दलाल सञ्जाल, अनियमितता र सेटिङका आरोपहरूलाई नियन्त्रण गर्दै गृह मन्त्रालयको नीतिगत सुधारलाई संस्थागत गर्नु नयाँ नेतृत्वको मुख्य चुनौती र अवसर रहेको छ। विज्ञहरूका अनुसार व्यक्ति परिवर्तन हुनुभन्दा पनि प्रविधिमैत्री सेवा, पारदर्शी निगरानी प्रणाली, दलाल नियन्त्रण र सेवाग्राहीमैत्री व्यवहारसहितको बलियो प्रणाली स्थापित नभएसम्म यस्ता संवेदनशील निकायको साख जोगाउन कठिन हुन्छ। देशको अन्तर्राष्ट्रिय प्रवेशद्वारको विश्वसनीयता कायम राख्न गृहको यो नयाँ सरुवा र नेतृत्वको कार्यशैली कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा आगामी कदमले स्पष्ट पार्नेछ।
No comments:
Post a Comment