फोरजी सुदृढीकरणपछि मात्र फाइभजी विस्तारको तयारीमा सरकार

मकाउ, ११ जुन । नेपाल सरकारले हाल सञ्चालनमा रहेको फोरजी सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार स्तरोन्नतिपछि मात्र पछिल्लो प्रविधि फाइभजी सेवा विस्तारमा जाने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले तत्काल फोरजी सेवा पूर्ण रूपमा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको स्पष्ट पार्दै दुई चरणमा योजना अघि बढाइएको बताउनुभएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले भन्नुभयो, “अहिलेको चरणमा फोरजीलाई अधिकतम प्रभावकारी बनाउने र दोस्रो चरणमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको छ। फाइभजी सेवा सुरु गर्ने कार्य सरकारको प्राथमिकतामा छ र त्यसका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणसम्बन्धी प्रक्रिया समेत अगाडि बढाइएको छ।


उहाँले तत्काल गर्न सकिने सुधारका काम सुरु गरी नतिजा देखिन थालेको र दीर्घकालीन सुधारका लागि पर्याप्त गृहकार्यसहित विषयगत रूपमा अध्ययन भइरहेको जानकारी दिनुभयो। सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एन्सेलले ठूलो लगानी लाग्ने भन्दै सहयोगको अपिल गरिरहेका बेला सरकारले भने फोरजीलाई उल्लेख्य सुधार गरेर मात्र फाइभजीमा जाने नीति लिएको हो। यसैगरी, दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन थप मोबाइल अपरेटरलाई अनुमति दिनेबारे सरकारले अध्ययन गरिरहेको र आवश्यकताका आधारमा चाँडै निर्णय लिइने मन्त्री तिमिल्सिनाले बताउनुभयो। हाल दुई कम्पनीले सेवा दिइरहेकोमा तेस्रो मोबाइल अपरेटरको सम्भावना र आवश्यकता पहिचानसहित प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ।

नेपाललाई क्षेत्रीय ‘डाटा सेन्टर हब’को रूपमा विकास गर्न सकिने सम्भावनाबारे समेत अध्ययन भइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले बहुराष्ट्रिय कम्पनीहरूको चासो र विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे अनुसन्धान जारी रहेको जानकारी दिनुभयो। नेपाल टेलिकमलाई बलियो बनाउने, बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा विद्यमान नियमभित्र रहेर पारदर्शी ढंगले समाधान खोजिने उहाँले बताउनुभयो।

No comments: