आर्थिक विधेयकका संशोधनहरू प्राविधिक त्रुटि सच्याउन र जनहितका लागि हुन्: अर्थमन्त्री वाग्ले

मकाउ १०, जुन ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटि सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले बजेट निर्माणका क्रममा भएका केही त्रुटिलाई लिएर अनावश्यक भ्रम सिर्जना गरिएको बताए । संसद्‌मा प्रस्तुत आर्थिक विधेयकमा सामान्यतया संशोधन गर्ने परम्परा नभए पनि आवश्यकता र औचित्यका आधारमा महत्त्वपूर्ण विषयहरू सच्याउन सकिने उनको भनाइ थियो ।

भन्सार दरसम्बन्धी विवादबारे स्पष्ट पार्दै मन्त्री वाग्लेले भ्याक्सिन र रगत बोक्ने ‘क्यारियर’ झोलाहरूलाई यसअघि सुटकेस र प्लास्टिकका बाकसको श्रेणीमा राखेर ३० प्रतिशत भन्सार लगाइँदै आएको जानकारी दिए । मानवीय आधारमा स्वास्थ्य सामग्रीको भन्सार घटाएर १५ प्रतिशत कायम गर्ने क्रममा प्राविधिक कारणले सुटकेसको भन्सार पनि १५ प्रतिशत नै हुन पुगेकाले सोही त्रुटि सच्याउन पुनः सुटकेसमा साविककै ३० प्रतिशत भन्सार कायम गरिएको उनले प्रष्ट पारे ।
यसैगरी विद्युतीय सवारीसाधनमा ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीको मूल्य नबढोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्दै उनले सडक निर्माण दस्तुरसम्बन्धी छुटेको व्यवस्थालाई संशोधनमार्फत समावेश गरिएको जानकारी दिए । त्यस्तै, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) अन्तिम उपभोक्तामा मात्र लागू हुने र उत्पादक तथा निकायबीचको कारोबारमा नलाग्ने गरी स्पष्ट पारिएको उनले बताए ।
बालबालिकाको शिक्षामा गरिएको खर्चको करकट्टी तथा महानगर र उपमहानगरबाहेकका क्षेत्रमा सञ्चालन हुने चलचित्र घर र नाट्यघरलाई आयकर छुट दिने व्यवस्था पनि पहिले छुटेकाले अहिले संशोधनमार्फत समेटिएको मन्त्री वाग्लेले जानकारी दिए । उनले जेठ १७ गते नै संसद् सचिवालयलाई औपचारिक रूपमा यी संशोधनबारे जानकारी गराइसकिएको उल्लेख गर्दै जनहितका लागि गरिएका सुधारलाई अनावश्यक रूपमा विवादित बनाइएको टिप्पणी गरे ।

No comments: