मकाउ, ३१ अगष्ट । रसुवाको भोटेकोशी नदीमा आएको बाढी र हिमपहिरोको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकारले खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विस्तृत विवरण अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।
उद्धार र राहत वितरणमा सक्रियता विपद्को सुरुवाती दिनदेखि नै सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न निकाय र स्वयम्सेवकहरू उद्धारको अग्रपंक्तिमा खटिएका छन्। हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलिया लगायतका मित्रराष्ट्रहरूबाट राहत तथा सहयोग प्राप्त भइसकेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। सुरक्षाकर्मीमार्फत रसुवा, नुवाकोट र धादिङका ४ वटा सङ्कलन केन्द्र र २७ वटा वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत सामग्री पुर्याइएको छ।
आर्थिक सहयोग र प्रधानमन्त्री राहत कोष पीडितहरूको सहायताका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप र राहत कोषमार्फत आर्थिक सहयोग सङ्कलन गरिरहेको छ। आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा गरी जम्मा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ र अमेरिकी डलर ३१ लाख ९३ हजार २३८ जम्मा भइसकेको छ।
सडक सञ्जाल र अस्थायी पुल निर्माण बाढीका कारण अवरुद्ध बनेको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालसँग जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत विभिन्न स्थान हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएपछि आवतजावत सहज बनेको छ। त्यस्तै, आपत्कालीन यातायातका लागि देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने तयारीस्वरूप अध्ययन पूरा भएको छ। भारत सरकारबाट २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भइसकेको र थप ७ वटा बेलिब्रिज पठाउने प्रतिबद्धता आएको छ भने चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुँदैछन्।
विद्युत् र सञ्चार सेवा पुनःस्थापना
• रसुवा: कालिकास्थान, नौकुण्ड, गोसाइँकुण्ड र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा सञ्चालनमा आइसकेको छ। बाँकी क्षेत्रका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
• नुवाकोट: प्रभावित क्षेत्रको ८५ प्रतिशत भागमा विद्युत् पुनःस्थापना भइसकेको छ भने बाँकी स्थानमा आगामी ५ दिनभित्र सेवा सुचारु हुनेछ।
• धादिङ: आदमघाटको केही क्षेत्रबाहेक ९८ प्रतिशत क्षेत्रमा विद्युत् फर्किसकेको छ।
• सञ्चार सेवा: नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा सुचारु गरिसकेका छन्।
जलविद्युत् आयोजनामा खोजी र उद्धार विभिन्न जलविद्युत् आयोजनाहरूमा प्रभावित र सुरुङभित्र फसेकाहरूको खोजी कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विभिन्न आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको छ। रसुवागढी, माथिल्लो त्रिशूली–१, त्रिशूली–थ्री ए लगायतका आयोजनाहरूमा चिनियाँ, भारतीय र कोरियन विशेषज्ञ टोलीसमेतको सहकार्यमा सुरुङभित्र खोजी कार्य जारी राखिएको छ।
शव व्यवस्थापन बाढीका कारण ज्यान गुमाएका ९३९ जनाको शव फेला परेको छ। पहिचान खुलेका शवहरू आफन्तको जिम्मा लगाइएको छ भने पहिचान हुन नसकेका शवहरूको डीएनए लगायतका वैज्ञानिक प्रमाणहरू सुरक्षित राखी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम सरकार आफैँले व्यवस्थापन गरिरहेको छ।
जलवायु परिवर्तनको गम्भीर असर यो विपद् साधारण बाढी नभई हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको सरकारले ठहर गरेको छ। यसले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको जोखिमलाई थप प्रष्ट पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष यस विषयलाई जोडदार रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याइएको छ। सरकारले खोज तथा उद्धारसँगै प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन पुनःस्थापनाको कामसमेत अघि बढाइसकेको जनाएको छ।

No comments:
Post a Comment