धितोपत्र बोर्डद्वारा निर्देशन संशोधन, संस्थापकको शेयर बिक्री सीमा १५ प्रतिशत कायम

काठमाडौँ, असोज २३ गते , नेपाल धितोपत्र बोर्डले संस्थापक शेयरधनीले शेयर बिक्री गर्दा दिनुपर्ने पूर्वजानकारी सम्बन्धी निर्देशनमा संशोधन गरेको छ । बोर्डको नियमन विभागले असोज २३ गते सबै सूचीकृत कम्पनीहरुलाई पत्राचार गर्दै गत भदौ ९ गते जारी गरेको निर्देशनलाई परिमार्जन/संशोधन/थप गरेको जनाएको छ । धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन र धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबारको नियमन तथा अनुगमन गर्ने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त संशोधन गरिएको बोर्डले जनाएको छ ।



साविकको निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचीकृत भएका कम्पनीका कुनै पनि आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नु भन्दा ५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराई सो सूचना नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । सूचनाको वैधता तीन महिना कायम रहने व्यवस्था थियो ।
संशोधित निर्देशन अनुसार अब धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको लक इन अवधि समाप्त भए पश्चात् प्रारम्भिक सार्वजनिक निष्कासनको बखत कायम रहेका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भएमा ५ कारोबार दिन अगाडि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । सूचीकृत कम्पनीले धितोपत्र बिक्री सूचना प्राप्त भए पश्चात् यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज लि. मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्नेछ । उक्त बिक्री आशयको सूचनाको वैधता तीन महिना कायम रहने बोर्डले स्पष्ट पारेको छ ।
साथै बोर्डले निर्देशनमा १ (क) थप गरेको छ । जस अनुसार निर्देशन नं. १ बमोजिम धितोपत्र बिक्री गर्ने आशयले सूचीकृत कम्पनी मार्फत सूचना प्रवाह गरेका शेयरधनीले आफूले बिक्री गर्न चाहेको शेयर बिक्री नगरेको वा पूर्ण रुपमा बिक्री नगरिसकेको अवस्थामा पुनः सोही कम्पनीको शेयर खरिद गर्न चाहेमा कारोबार सम्पन्न भए पश्चात् यथाशीघ्र मूल्य तथा परिमाण उल्लेख गरी सूचीकृत कम्पनीमा जानकारी गराउनुपर्नेछ र सूचीकृत कम्पनीले प्राप्त धितोपत्र खरिद सम्बन्धी जानकारी यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
कार्यकारी निर्देशक विनयदेव आचार्यद्वारा हस्ताक्षरित उक्त परिपत्र नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ लि. लगायतलाई बोधार्थ दिइएको छ ।

No comments: