स्पेसएक्सको ऐतिहासिक आईपीओ: नास्डाकमा ‘SPCX’ टिकरमार्फत सूचीकृत हुँदै

मकाउ, ०७ जुन । विश्वकै सर्वाधिक धनी व्यवसायी इलन मस्कको स्वामित्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ ले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले करिब १८ खर्ब (१.८ ट्रिलियन) अमेरिकी डलरको कुल मूल्यांकनसहित आईपीओमार्फत झन्डै ७५ अर्ब अमेरिकी डलर पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। यो वित्तीय कदम सफल भएमा यसले विश्वभरका अघिल्ला सबै वित्तीय कीर्तिमानहरूलाई तोड्ने निश्चित देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार रकेट तथा भूउपग्रह निर्माता कम्पनी स्पेसएक्सले यसै साता अमेरिकी सेयर बजार ‘नास्डाक’ मा ‘SPCX’ टिकर सिम्बोलमार्फत सूचीकृत हुनुअघि प्रतिसेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गर्ने योजना बनाएको छ। आगामी शुक्रबार (जुन १२) देखि सार्वजनिक कारोबारका लागि खुला हुने यस आईपीओका लागि लगानीकर्ताको चासो अभूतपूर्व देखिएको छ। सार्वजनिक हुनु अगावै बजारमा उपलब्ध सेयरको संख्याभन्दा दोब्बर अर्थात् करिब डेढ खर्ब डलर बराबरको खरिद प्रस्ताव (माग) आइसकेको आईपीओ निष्कासनमा संलग्न बैंकरहरूले जनाएका छन्।
प्रस्तावित ७५ अर्ब डलरको यो आईपीओले सन् २०१९ मा साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोले उठाएको २९.४ अर्ब डलरको ऐतिहासिक विश्व कीर्तिमानलाई निकै ठूलो अन्तरले पछि पार्नेछ। यसअघि चिनियाँ प्रविधि कम्पनी अलीबाबा र जापानी बहुराष्ट्रिय कम्पनी सफ्टबैंकले करिब २५ अर्ब डलर संकलन गरेर बजारमा ठूलो सफलता पाएका थिए। योजनाअनुरूप १८ खर्ब डलरको बजार मूल्यसहित सूचीकरण भएमा स्पेसएक्स बजार मूल्यका आधारमा अमेरिकी लिस्टेड कम्पनीहरूको शीर्ष समूहमा प्रवेश गर्नेछ भने यसको आकार स्थापित पुराना प्रविधि तथा औद्योगिक कम्पनीहरूभन्दा ठूलो हुने विश्लेषकहरूको अनुमान छ।
सन् २००२ मा स्थापना भएको स्पेसएक्सले हाल पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधि, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का लागि कार्गो तथा मानवसहितको अन्तरिक्ष मिसन र 'स्टारलिंक' मार्फत विश्वव्यापी भूउपग्रह इन्टरनेट नेटवर्क सेवा प्रदान गर्दै आएको छ। हालै सन् २०२६ को सुरुवातमा मस्ककै एआई कम्पनी (xAI) सँगको ऐतिहासिक मर्जरपछि कम्पनीले भूउपग्रह र आर्टिफिसियल इन्टेलिजेन्सको एकीकृत पूर्वाधारमा समेत लगानी बढाएको छ। कम्पनीले सन् २०२५ मा १८.७ अर्ब डलर आम्दानी गरे तापनि चन्द्रमा र मंगल ग्रहमा मानिस पुर्‍याउने महत्वाकांक्षी ‘स्टारसिप’ परियोजना र एआई प्रविधिमा गरिएको भारी लगानीका कारण हालसम्म खुद नाफामा भने पुग्न सकेको छैन।
यस ऐतिहासिक आईपीओपछि पनि कम्पनीको समग्र नीति र सञ्चालनमा इलन मस्ककै एकल वर्चस्व कायम रहनेछ। मस्कसँग स्पेसएक्सको ८२ प्रतिशत भोटिङ अधिकार (मतदान अधिकार) सुरक्षित रहने भएकाले कम्पनी सार्वजनिक भए तापनि यसको रणनीतिक निर्णय, दूरगामी योजना र नेतृत्वमा उनको पूर्ण नियन्त्रण रहने स्पष्ट पारिएको छ।

No comments: