मुसर्रफले आज राजीनामा दिने

इस्लामावाद/ पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफले राष्ट्रिय स्वतन्त्रता दिवसको दिन पारेर बिहीबार राजीनामा दिने भएका छन् । पाकिस्तानी दैनिक पत्रिका क्वेत न्युजले उच्च स्रेतलाई उद्धृत गर्दै मुसर्रफले बिहीबार राजीनामा दिने बताएको छ । महाअभियोग प्रस्ताव संसद्मा लग्नुअघि नै राजीनामा दिएमा मुसर्रफलाई गठबन्धन सरकारले उनलाई सुरक्षित प्रस्थानको अवसर दिने विपक्षी दल पाकिस्तान मुस्लिम लिग -क्यु) का वरिष्ठ नेताले बताएका छन् । राजीनाको घोषणा गर्नुअघि मुसर्रफले राष्ट्रका नामका सम्बोधन गर्न अवसरको माग गर्नसक्ने पनि बताइएको छ । मंगलबार पाकिस्तानको सत्तारुढ गठबन्धनले मुसर्रफविरुद्ध महाअभियोग प्रस्ताव अर्काे हप्ता संसद्मा पेस गर्ने बताएको थियो । चारमध्ये दुई प्रान्तीय संसद्ले मुसर्रफलाई संसद्मा विश्वासको मत हासिल गर्न आग्रह गदै प्रस्ताव पारित गरेको छ । मुसर्रफले विश्वासको मत हासिल गर्नुपर्ने प्रस्ताव चारैवटा प्रान्तीय संसद्बाट पारित भएपछि मुसर्रफलाई महाअभियोग लगाउने प्रस्ताव राष्ट्रिय संसद्मा लगिने बताइएको छ । सिन्ध र नर्थवेस्ट प्रन्टिअर प्रान्तले मुसर्रफविरुद्धको प्रस्ताव पारित गरिसकेको छ । महाअभियोग प्रस्तावको सामाना गर्न वा राजीनामा दिन मुसर्रफमाथि केही हप्तायता दबाब बढिरहेको छ । पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी -पिपिपी) ले नेतृत्व गरेको सत्तारुढ गठबन्धन सरकारले मुसर्रफलाई पटक-पटक संविधान उल्लघंन गरेको, संयुक्तराज्य अमेरिकाबाट प्राप्त करोडौंको आर्थिक सहयोग हिनामिना गरेको र हत्याजस्ता आरोप लगाउँदै महाअभियोग प्रस्ताव तयार पार्ने बताएको छ । मुसर्रफले राजीनामा दिएमा इस्लामावादबाहिर रहेको आफ्नो नवनिर्मित घरमा नसरुन्जेल राष्ट्रपति रहन दिइने छ । त्यसको केही हप्तामा उनले देश छोड्ने बताइएको छ । मुसर्रफले १९९९ रक्तविहीन 'कू' मार्फत् नवाज सरिफलाई अपदस्थ गरेर सत्ता हत्याएका थिए । मुसर्रफविरुद्ध महाअभियोग प्रस्ताव अनुमोदन गर्न गठबन्धन सरकारसँग दुई तिहाइ मत छैन । तर, मुसर्रफविरुद्ध 'छाल ओर्लिएका'ले महाअभियोग प्रस्ताव पारित हुने विश्वास गरेको छ । संयुक्तराज्य अमेरिकाले मुसर्रफविरुद्धको महाअभियोग लगाउने प्रस्तावमा केही टिप्पणी गरेको छैन । तर, राजीनामा दिए कारबाही नचलाउन निश्चित गर्न पाकिस्तानका लागि अमेरिकी राजदूत एन पेर्टसन प्रयासरत रहेको रिपोर्ट पाकिस्तानी अखबारले छापेका छन् । गत वर्ष आफ्नो दोस्रो राष्ट्रपतीय-काल निश्चित गर्न मुसर्रफले संकटकाल लगाएपछि र न्यायालयमाथि हस्तक्ष्ाेप गरेपछि उनको लोकपि्रयता घटेको थियो ।

जोगीमाराका पीडितले क्षतिपूर्ति पाएनन्

धादिङ/ सशस्त्र युद्धका बेला सेनाले घरजग्गा कब्जा गरेपछि बेघर भएका सर्वसाधारणले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । धादिङको जोगीमारा- ९, मजिमटारका १४ परिवारको घरजग्गा कब्जामा लिएर सेनाले आफ्नो ब्यारेक खडा गरेको थियो । चार रोपनी जग्गा र फलफूलको समेत क्षतिपूर्ति दिने भनेर सेनाले घरजग्गा लिएको भए पनि हालसम्म दुईपटक मात्र बालीको क्षतिपूर्ति भनेर थोरै रकम पाएको पीडित हरिकुमार घिमिरेले गुनासो गरे । उनले तत्काल क्षतिपूर्ति दिलाइदिन जिल्ला प्रशासन कार्यालयसमक्ष माग गरेका छन् । युद्धका समयमा बारुद र बमको आवाजले बिरामी परेकी आफ्नी श्रीमतीको उपचार गराइदिन पनि उनले आग्रह गरेका छन्। पटक-पटक जग्गा फिर्ता गर्न माग गर्दा पनि बेवास्ता गरिएको घिमिरेको आरोप छ । घिमिरेलगायत ज्ाोगीमाराका टेकबहादुर राउत, बाबुराम राउत, राममणि राउत, एकबहादुर खाँण, हरिबहादुर खाँण, कमलबहादुर खाँण, यज्ञबहादुर खाँण, दीपबहादुर खाँण, केन्द्रबहादुर खाँण, इन्द्रनाथ त्रिपाठी र रामकृष्ण राउतको जग्गा सेनाको ब्यारेकभित्र परेको उनीहरूले बताएका छन् ।

'दुइवटा सेना एउटै शक्तिले संचालन गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा.रामशरण महतले प्रधानमन्त्रीमा आफ्नो दलले उम्मेदवार खडा गर्नसक्ने बताएका छन् ।२९ साउनमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सकेसम्म राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने नभए प्रधानमन्त्रीका लागि उम्मेदवार खडा गर्ने बताए । 'प्रधानमन्त्रीका लागि उम्मेदवारी दिन पनि सक्छौं, अरुलाई र्समर्थन दिन पनि सक्छौं,' नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा.महतले भने,'माओवादीले सहमति बनाउन नसके उसको नेतृत्वमा सरकारमा सहभागी हुदैनौं ।' आफ्नो दलले रक्षा मन्त्रालयलाई आधार बनाएर सरकारमा नजाने अडान नलिएको बताए । माओवादीको अर्धसैनिक बल कायमै रहेको, कब्जा गरिएका घरजग्गा र सम्पत्ति फिर्ता नगरेको कारण उसको नेतृत्वको सरकारमा जान नसकिने बताए । सेना समायोजनलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरुले माओवादी बाहेकका पार्टीले रक्षा मन्त्रालय लिनुपर्ने जोड दिएको बताए । उनले भने,'दुइवटा सेना एउटै शक्तिले संचालन गर्न मिल्दैन ।' आफूहरु संयम भएर सहमतिको सरकार बनाउन अन्तिम समयसम्म जुटिरहने बताए । अर्थमन्त्री महतले देशभर विद्यमान खाद्य संकट समाधानका लागि सरकार सक्रिय भएको बताए । समस्या परेका स्थानमा खाद्यान्न पठाउन आवश्यक रकम दिन तयार भएको बताउदै भने,'सरकारको मात्र नभई अरुको पनि समस्या समाधानको जिम्मेवारी हो, बाटो अवरुद्ध गर्ने, गाडी चल्न नदिने अवस्थाको अन्त गर्नुपर्छ ।' ढुवानी वृद्धि, सडक बन्दका कारणले पनि खाद्यान्न अभाव भएको उनको भनाई थियो । नेकपा एमाले स्थायी कमिटि सदस्य वामदेव गौतमले माओवादीलाई सरकारको नेतृत्व गर्न सहयोग गर्ने निर्णय भइसकेकाले आफ्नो दलको मत माओवादी उम्मेदवारलाई जाने बताए । उनले भने,'माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीमा खडा गर्ने भनेअनुसार उहांलाई हाम्रो १०८ मत जानेछ ।' आफूहरु शर्तसहित सरकारमा जाने बताउदै पालना नभए २० दिनभित्रै र्समर्थन फिर्ता लिने बताए । माओवादीले व्रि्रोही चरित्र नत्यागेकाले उसको भावी व्यवहारले र्समर्थन गर्ने नगर्ने टुंगो लाग्ने बताए । माओवादी अध्यक्ष प्रचण्डले जनसेनाको सर्वोच्च कमाण्डर त्याग्नुपर्ने गौतमको भनाई थियो । राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफूहरुले अन्तिम समयसम्म पहल गरिरहने बताए । कांग्रेसले रक्षा मन्त्रालयकै अडान लिएर सरकारमा जान्न भन्नु जायज नभएको बताए ।