नेपालमा २८ देशका सैनिक

काठमाडौं, ८ भदौ नेपालको औपचारिक सैन्य सम्बन्ध सात देशसित मात्रै भए पनि २८ देशका सैन्य अधिकारीहरू नेपालमा खटिएका छन् । उनीहरूले अनौपचारिक रूपमा नेपालको 'सैन्य गुप्तचरी' गरी आफ्नो देशका सैनिक हेडक्वार्टरमा रिपोर्ट पठाउने गर्छन् । नेपालको औपचारिक सैन्य सम्बन्ध भएका देशहरू बेलायत, अमेरिका, भारत, रुस, पाकिस्तान, चीन र बंगलादेश हुन् । तर, २८ देशले ४० जना सैन्य अधिकारी 'नेपाल हेर्न' नियुक्त गरेका छन् । उनीहरूमध्ये १४ जना नेपालमै बस्छन् भने २५ जना भारतको नयाँदिल्ली र एकजना बंगलादेशको ढाकामा बसेर नेपालका सैन्य गतिविधि नियालिरहेका छन् । नेपालको सबैभन्दा पुरानो सैन्य सम्बन्ध भारतसित छ । सन् १९४७ देखि नेपालको सैन्य कूटनीति भारतसित औपचारिक रूपमा स्थापित भएको हो । अमेरिकासित १९६७ देखि र त्यसपछि क्रमशः चीन र पाकिस्तानसित सैन्य सम्बन्ध विस्तार भएको हो । अन्य देशमा रहेका नेपाली सैन्य अधिकारीले आफ्ना देशका सैनिक अधिकृतहरूलाई तालिमको व्यवस्था मिलाउने र सेनालाई चाहिने हतियारलगायतका सरसामानको बन्दोबस्त गर्ने काम गर्छन् । नेपाली सैन्य अधिकारीले गुप्तचरीको भूमिका भने प्रभावकारी रूपमा निभाउन नसकेको परराष्ट्रविद्हरू बताउँछन् । नेपाल हेर्ने अन्य देशका सैन्य अधिकारीले नेपालको बारेमा नियमित रूपमा आफ्नो हेडक्वार्टरलाई रिपोर्ट गर्दै आएका छन् । देखिने रूपमा भने उनीहरू सामान्य सैन्य कूटनीतिक क्रियाकलापमा मात्रै संलग्न हुन्छन् । भारतसहित चीन, पाकिस्तान, बेलायत र अमेरिकाका सैन्य अधिकारीहरू काठमाडौंमै छन् । परराष्ट्र मन्त्रालयको रेकर्डअनुसार छिमेकी राष्ट्र भारतले कर्नेल मनमोहनसिंह दानोआको नेतृत्वमा ६ जना सैनिक नेपाल हेर्न खटाएको छ । उनीहरूमध्ये दुईजना भारतीय पूर्वगोर्खा सैनिकको पेन्सन वितरण गर्न धरान र पोखरामा खटिएका छन् । पिपिओ -पेन्सन पेइङ अफिस) इन्चार्जका रूपमा भारतीय सेनाका लेफि्टनेन्ट कर्नेल विकास चाबला श्रीमती तमानुसहित पोखरामा बस्दै आएका छन् । यसैगरी मेजर अमृत अउल धरानमा पिपिओका इन्चार्जका रूपमा कार्यरत छन् । उनी श्रीमती अनुजासहित धरानमै बस्छन् । मेजर एनसी खुमान सहायक सैन्य सहचारीका रूपमा लैनचौरस्थित दूतावासमा कार्यरत छन् । मेजर भुपाल सिंह पनि सहायक सैन्य सहचारीको हैसियतमा खटिएका छन्, काठमाडौंस्थित दूतावासमा । भारतीय सेनाका मेजर एके भोस्ले पनि दूतावासमै कार्यरत छन् । चीनले वरिष्ठ कर्नेल चेङ जिझोङलाई नेपालस्थित राजदूतावासमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनको हैसियत राजदूतपछि तेस्रो हो । उनीसँगै चिनियाँ सेनाका क्याप्टेन युके पनि नेपालमा छन् । पाकिस्तानले कर्नेल अख्तर नवाजलाई सैन्य सहचारीका रूपमा नेपालस्थित दूतावासमा खटाएको छ । उनी रक्षान्दासहित काठमाडौंमा बस्दै आएका छन् । बेलायतले कर्नेल जर्मी एलिसलाई नेपालमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनीसहित तीनजना बेलायती सैनिक नेपालको सैन्य क्षेत्र हेर्नका लागि काठमाडौंमा छन् । बेलायतका मेजर निक अकोट सहसैनिक सहचारीका रूपमा काठमाडौंमा कार्यरत छन् । बेलायतकै मेजर जोन हवार्ड पनि काठमाडौंमा खटिएका छन् । अमेरिकाले दुई सैनिकलाई नेपालको सैन्य गुप्तचरी गर्न खटाएको छ । अमेरिकी सेनाका कर्नेल ब्रायन र मेजर प्याटि्रक केली काठमाडौंस्थित दूतावासमा खटिएका छन् । पmान्सले कर्नेल प्याटि्रक सेराडेललाई नेपालको समेत सैनिक सहचारीको जिम्मेवारी दिएको छ । कर्नेल सेराडेल दिल्लीमा बस्छन् । जर्मनीले नेपाल हेर्ने गरी कर्नेल माइकल स्कुथलाई सैन्य सहचारीका रूपमा खटाएको छ । उनको कार्यालय नयाँदिल्लीमा छ । अफगानिस्त्ाानले दिल्लीस्थित दूतावासमा कार्यरत मेजर जनरल अब्दुल खालिक चिरालाई नेपाल हेर्ने जिम्मेवारी दिएको छ । अफगानिस्तानकै कर्नेल मसुद स्टानाजीले पनि नेपालको सैन्य कूटनीति हेर्छन् । दिल्लीस्थित आवासीय दूतावासमार्फत नेपालको मामला हेर्दै आएको क्यानडाले कर्नेल ग्यारी रिउमलाई यस प्रयोजनमा खटाएको छ । उनले दिल्लीमा रहेर नेपालको समेत जिम्मेवारी सम्हालेका छन् । गणतन्त्र चेकले पनि दिल्लीमा रहेको आवासीय दूतावासमार्फत कर्णेल जिन्दि्रच हेकरलाई नेपालको सैन्य मामिला हेर्न खटाएको छ । दिल्लीमै आवासीय दूतावास रहेको हंगेरीले लेफि्टनेन्ट कर्नेल कारोले बेल्सोलाई सो जिम्मेवारी दिएको छ । रुसले कर्नेल अलेक्जेन्डर आई पास्केन्कोलाई नेपाल हेर्ने गरी सैन्य सहचारीका रूपमा खटाएको छ । उनी बंगलादेशको राजधानी ढाका बसेर नेपालसमेत हेर्दै आएका छन् । नेपालमा आवासीय दूतावास नराखेको इटलीले पनि कर्नेल ज्युसेप ज्युन्टीलाई दिल्लीमार्फत नेपाल हेर्ने जिम्मेवारी दिएको छ । दिल्लीमै रहेको केन्या उच्चायोगलेे नेपाल हेर्न कर्नेल इडी चिवेलाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । नयाँदिल्लीमै कार्यालय रहेको माल्दिभ्स उच्चायोगले सैन्य सहचारीका रूपमा कर्नेल अब्दुल्लाहलाई दिल्लीबाटै नेपालको सैन्य मामिला हेर्न लगाएको छ । दिल्लीमा कार्यालय राखिएको नाइजेरिया उच्चायोगका तर्फबाट नेपाल हेर्न क्याप्टेन हमिदु उसमान जाफेजीलाई सुरक्षा सल्लाहकारका रूपमा खटाइएको छ । फिलिपिन्सले पनि कर्नेल एलेक्स सी कापिनालाई दिल्लीमा रहेको आवासीय दूतावासमार्फत नेपाल हेर्न लगाएको छ । यसैगरी रोमानियाले दिल्लीमा रहेको दूतावासमार्फत नै लेफि्टनेन्ट कर्नेल लियोनार्दो दिनुलाई नेपाल हेर्न खटाएको छ । उनी पनि दिल्लीमै बस्छन् । भारतको चाणक्यपुरीमा रहेको आवासीय दूतावासमार्फत सिंगापुरले कर्नेल पर्दित कुमार तिवारीलाई नेपालका लागि सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तिवारीले दिल्लीमा बस्ोर नेपालको समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन् । स्लोभाकले पनि दिल्लीमा रहेको दूतावासमा रहेका कर्नेल भ्लादिमिर गि्रजरलाई नेपालसमेत हेर्ने जिम्मेवारी दिएको छ । नयाँदिल्लीमा रहेको सुडान दूतावासले बि्रगेडियर अब्देल एमएम अली मुतालाबलाई नेपाल हेर्न तोकेको छ । दिल्लीमै रहेको स्विस दूतावासले नेपाल हेर्नका लागि सैन्य सहचारीका रूपमा बि्रगेडियर जनरल पाउल केलिनलाई खटाएको छ । उनले दिल्लीमै रहेर नेपाल हेर्दै आएका छन् । टर्कीले कर्नेल इस्माली इसिकीलाई यो जिम्मेवारीमा राखेको छ । दिल्लीस्थित दूतावासमा रहेर कर्नेल इस्मालीले नेपालका लागि सैन्य सहचारीको काम गरिरहेका छन् । दिल्लीमै रहेको दूतावासमार्फत नेपाल हेर्दै आएको युक्रेनले दुई कर्नेललाई नेपालका लागि नियुक्त गरेको छ । कर्नेलद्वय इहोर लिकारेन्को र ओल्हे हुलाक नेपालको सैन्य मामला हेर्न हुन् । युनाइटेड अरब इमिरेट्सले पनि दिल्लीमा रहेको दूतावासमार्फत नेपाल हेर्न कर्नेलद्वय स्टाफ पाइलट अहम्मद इब्राइम युसुफ अल नुइसी र स्टाफ इन्जिनियर सुहेल मुबारक अल घुफ्लीलाई खटाएको छ । भियतनामले दिल्लीमार्फत कर्नेल ली भान थाहँलाई खटाएको छ भने जाम्बियाले बि्रगेडियर जनरल एसएल गंगोलालाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । दिल्लीमार्फत नै जिम्बाबेले 'विङ कमान्डर' एस जोरेराजालाई सैनिक सहचारीका रूपमा नेपाल हेर्न लगाएको छ । इजरायलले कर्नेल जोसेफ टर्गम्यानलाई नेपाल हेर्ने गरी पठाएको छ । उनी दिल्लीमा श्रीमती अभिजिलसहित दिल्लीस्थित इजरायली दूतावासमा बस्दै आएका छन् । नेपालमा रहेका विदेशीहरूको तुलनामा नेपालबाट अन्य देशमा खटाइएका सैनिक सहचारीको संख्या न्यून छ । नेपालका जम्मा ६ जना सैनिक अधिकृत विदेशमा रहेका नेपाली नियोगमा खटिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा सहायक रथी राज राना सैनिक सहचारीको जिम्मेवारीमा छन् । चीनमा कर्नेल राजेन्द्रबहादुर कार्की छन् । पदावधि सकिएका कार्की नेपाल फर्किने तयारीमा छन् भने उनको स्थानमा कर्नेल गणेशबहादुर भण्डारीलाई पठाइन लागेको छ । भारतमा कार्यरत कर्नेल पदमविलास कार्की पनि फर्किने तयारीमा छन् । उनको स्थानमा कर्नेल अशोकनरसिंह राणालाई दिल्ली पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकामा हाल कर्नेल हेमन्तराज कुँवर सैनिक सहचारीका रूपमा खटिएका छन् । पदावधि सकिएका कुँवर काठमाडौं फर्किने तयारीमा छन् भने कुँवरको ठाउँमा सरकारले कर्नेल शमशेर ठकुराठीलाई खटाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा कर्नेल पूर्ण सिलवाल छन् । उनीअघि देवेन्द्रबहादुर मेधासी कार्यरत थिए । नेपाल हेर्न खटाइएका विदेशी सैनिक सहचारीहरूलाई वर्षमा एकपटक सेनाको वाषिर्कोत्सव समारोहमा बोलाउने गरिएको छ भने कामविशेषले पनि उनीहरू नेपाल आइरहन्छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्ष्ाेत्री सैनिक सम्बन्ध स्थापना भएका मुलुकबाट सैनिक तालिमलगायतको सहयोग नेपाली सेनलाई प्राप्त भइरहेको बताउँछन् । बेलायत, अमेरिका, भारत, चीन र पाकिस्तानमा नेपाली सेनालाई सहायक रथीस्तरको तालिमका लागि अवसर प्राप्त भइरहेको उनले जानकारी दिए । नेपालले आवश्यकता हेरेर मात्रै सैन्य सहचारी नियुक्त गर्नुपर्ने परराष्ट्रविद्हरूको सुझाव छ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, 'विदेशमा निष्त्रिmय रहेर बसेकाहरूलाई सक्रिय तुल्याउनुपर्छ । जहाँ आवश्यक छैन उनीहरूलाई फिर्ता बोलाउनुपर्छ ।' परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापा सैन्य सहचारीहरूमार्फत नेपालले अन्य मुलुकसँग र अन्य मुलुकले नेपालसँग सैन्य सम्बन्ध स्थापना गरेको बताउँछन् । -पर्शुराम काफ्ले/नयाँ पत्रिका

अब एसियाली बढी खतरामा !

थुप्रै एसियाली-अमेरिकीको जीवनमा परिवारको स्थान विशेष रहेको छ । उनीहरूका लागि शक्ति र सहयोगको मुख्य स्रोत परिवार रहेको हुन्छ । यो पूर्वीय वा एसियाली समाजको संस्कृति हो । तर, जब यस संस्कृतिमा गडबडी आउँछ अनि थाहै नपाई मानिस मात्र होइन, पूरै परिवारले पीडा पाउँछ । यसको उदाहरण हालै अमेरिकामा रहेका एसियालीका बीचमा भेटिएको छ । अमेरिकामा भएको एउटा सर्वेक्षणका अनुसार एसियाली मूलका अमेरिकीहरू परिवार संरचनाको फरक संस्कृतिमा सहज हुन सकिरहेका छैनन् । र, यसका कारण अमेरिकामा सबैभन्दा बढी आत्महत्या प्रयास गर्नेमा एसियाली मूलका अमेरिकी रहने गरेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका मनोवैज्ञानिक डेभिसका अनुसार गरिबी र निराशाजस्ता नकारात्मक कुराले भन्दा एसियाली मूलका अमेरिकीलाई पारिवारिक-द्वन्द्वले बढ्ता असर पार्छ । पारिवारिक द्वन्द्वको जोखिम आत्महत्यासम्म पुग्नसक्ने चेतावनी डेभिसले दिएका छन् । राज्यले लगानी गरेको २००३ नेसनल ल्याटिनो एन्ड एसियन अमेरिकन स्टडीले गरेको प्रारम्भिक अनुसन्धानमा १८ वर्षभन्दा बढी उमेरका २००० एसियाली जनतालाई प्रश्न सोधिएको थियो । यस अध्ययनको प्रतिवेदन अगस्ट १७ मा बोस्टनमा सम्पन्न अमेरिकन साइकोलोजिकल एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो । यस प्रतिवेदनले एसियाली-अमेरिकीमा पारिवारको असर कस्तो हुन्छ भन्ने देखाएको छ । कहिलेकाहीँ काउन्सिलिङ खोज्न गएका सीमान्तकृत जनजातिका नागरिकलाई मानसिक स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगर्ने पनि प्रतिवेदनमा बताइएको छ । 'सामान्यतः एसियाली-अमेरिकीले आफ्ना मनोवैज्ञानिक समस्याका बारेमा खुलेर कुरा गर्ने कमै सम्भावना छ,' साइकोलेजी एन्ड एसियन अमेरिकन स्टडिजका प्रोफेसर स्ट्यान्ली स्यु भन्छन् । आफ्ना व्यक्तिगत समस्यालाई एसियाली मूलका अमेरिकीले कमै खोल्ने गरेको पनि सामुदायिक कार्यकर्ताले बताएका छन् । सहयोग पाउने अवसर हुँदाहुँदै पनि एसियाली-अमेरिकीले मानसिक स्वास्थ्यकार्यकर्ताको सहयोग लिने निकै झिनो सम्भावना भएको अध्ययनले देखाएको छ । उनीहरू सांस्कृतिक रूपमा स्विकारिएका परम्परागत अनुशासन र पारिवारिक व्यवस्थामा भर पर्छन् । 'एसियाली संस्कृतिमा पारिवारिक मेलमिलाप र पारिवारिक एकतालाई महत्त्व दिइने भएकाले एसियाली मूलका मानिसहरूको आत्महत्याको व्यवहारको अध्ययन गर्न पारिवारिक द्वन्द्वलाई प्रमुखता दिनुपर्छ,' स्ट्यान्ली भन्छन् । उनले प्रश्न सोधेका २.७ प्रतिशत एसियाली-अमेरिकीले आफ्नो जीवनको कुनै समयमा आत्महत्या प्रयास गरेको बताएका छन् । संयुक्तराज्य अमेरिकामा एक प्रतिशत देखि ४.६ प्रतिशत आत्महत्याको प्रयास हुने गरेको बताइएको छ । पारिवारिक समस्या भएका एसियाली-अमेरिकीमा आत्महत्याको जोखिम अन्य एसियाली अमेरिकीभन्दा तीनगुणा बढी हुने गरेको छ । चीनियाँ मूलका अमेरिकी महिला र एसियन अमेरिकन विद्यार्थीहरूको समूहमा अन्यको भन्दा आत्महत्याको जोखिम बढी भएको अध्ययनमा बताइएको छ । चीनियाँ वृद्ध महिलामा पारिवारिक विखण्डनले आत्महत्याको जोखिम निम्त्याउने सम्भावना छ । 'यी धेरै महिलाले आफ्नो सम्पूर्ण जीवन परिवारका लागि समर्पित गरेका हुन्छन् । अचानक छोराछोरीले घर छोड्छन् । त्यस प्रकारको ठूलो परिवार नपाएपछि उनीहरूले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ,' स्ट्यान्ली भन्छन् । एसियाली मूलका विद्यार्थीहरूमा चाहिँ पारिवारिक अपेक्षाले गर्दा समस्या उत्पन्न हुने गरेको छ । 'हामीसँग राम्रो तथ्यांक त छैन तर, सफलताको कमीका कारण धेरै निराश हुने गरेका छन्,' स्ट्यान्ली भन्छन्, 'ग्रेड 'ए' को सट्टा ग्रेड 'बी' ल्याउनु प्रायः विद्यार्थीका लागि पाप गरेसरह हँुदैन, तर संस्कृति र पारिवारिक संरचना जहाँ पुरानो पुस्ताले नयाँ पुस्ताका लागि गरेको समर्पण भित्री रूपमा गढेको हुन्छ ।' परिवारको त्यो अपेक्षा पूरा गर्न नसक्दा विद्यार्थीले 'लज्जाबोध' महसुस गर्ने स्ट्यान्ली बताउँछन् । आप्रवासी बाबु-आमाका सन्तान र अमेरिकामा पढ्न गएका एसियाली मूलका विद्यार्थीबीच यो जोखिम बढी छ । एसियाली संस्कृतिमा परिवारको स्थान उच्च भए पनि परिवारभित्र उत्पन्न हुने समस्या हल गर्नु सबैभन्दा जटिल रहेको स्ट्यान्ली बताउँछन् । 'एसियाली मुलुकका अमेरिकी परिवारमा आत्महत्यासँग सम्बन्धित द्वन्द्वहरूको पहिचान गर्नु र त्यस्ता पारिवारिक समस्यालाई रोक्न हाम्रो अध्ययनले सल्लाह दिन्छ,' स्ट्यान्ली भन्छन् ।

ओबामाका उपराष्ट्रपति उम्मेदवार जो विदेल

वासिङ्टन/ संयुक्तराज्य अमेरिकाका डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाराक ओबामाले उपराष्ट्रपतिका उम्मेदवार शनिबार बिहान चयन गरेका छन् । ओबामाले डेलावेरका सिनेटर जो विदेनलाई डेमोक्रेटिक पार्टीका उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका हुन् । विदेन विदेशनीति र रक्षा मामिलामा दक्ष भएको बताएको छ । वेबसाइटमार्फत् ओबामाले उपराष्ट्रपतिको चयनको घोषणा गरेका थिए । चन्दाका लागि अपिल गर्दै ओबामा र उपराष्ट्रपतिका उम्मेदवार जो विदेलको तस्बिर वेबमा राखिएको थियो । त्यसपछि टेक्स्ट म्यासेजमार्फत् उपराष्ट्रपति चयनको जानकारी दिइएको थियो । 'बाराकले सिनेटर जो विदेललाई हाम्रा उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका छन्,' टेक्स्टमा लेखिएको थियो । ६५ वषीय विदेलले ३० वर्षभन्दा बढीको सिनेटको अनुभव संगालेका छन् । उनी राम्रो वक्ताको रूपमा चिनिन्छन् । उनी वैदेशिक सम्बन्ध कमिटीको अध्यक्ष, न्यायिक कमिटीको अध्यक्ष भइसकेका छन् । उपराष्ट्रपतिको मुख्य फाइनलिस्टमा हिलारी क्लिन्टन, कान्सासका गर्भनर काथलिन सेविलियस र टेक्सासकी प्रतिनिधि चेट इडवार्डस रहेका छन् । लिस्टमा परेका तुलनामा विदेलको रक्षा र वैदेशिक मामिलामा बढी अनुभव भएको बताइन्छ । यी दुई मामिलामा रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याकेनभन्दा ओबामाको अनुभव कम रहेको छ । वैदेशिक र रक्षा मामिलाको अनुभवबाहेक विदेलको 'श्रमिक वर्ग' को पृष्ठभूमि रहेको छ । विदेलको यस पृष्ठभूमिले ओबामालाई निकै फाइदा पुग्ने देखिन्छ । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार छनोटको चुनावमा श्रमिकवर्गको मत हिलारी क्लिन्टनतर्फ गएको थियो । विदेल २९ वर्षको उमेरमा १९७२ मा सिनेटमा निर्वाचित भएका थिए । तर, पद सम्हाल्नुअघि नै ट्रयाक्टर दुर्घटनामा उनकी श्रीमती र १३ महिने छोरीको मृत्यु भयो । छोरालाई राखिएको अस्पतालको शय्याको छेउमा उनले आफ्नो कार्यकालको पहिलो शपथ खाएका थिए । उपराष्ट्रपतिको चयनको घोषणा फैलनेबित्तिकै रिपब्लिकन पार्टीका चुनावी अभियान प्रवक्ताले आलोचना गरिसकेका छन् । प्रवक्ता बेन पोर्रिटले एक विज्ञप्तिमार्फत् ओबामाको वैदेशिक नीतिको मूल्यांकन कमजोर भएको बताए । साथै, २००७ मा विदेलले अमेरिकी टेलिभिजन एबिसीलाई दिएको अन्तर्वार्ता उद्धृत गरे । अन्तर्वार्तामा विदेलले ओबामा अझै राष्ट्रपति बन्न तयार नभएको बताएका थिए ।

प्रचण्ड र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री बेन जिया बाओबीच आइतबार बेइजिङस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र चीनका आपसी सहयोग सम्बन्धी छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका अवसरमा दुवै नेताले दुवै देशका जनतालाई आपसी लाभ पुग्ने खालका सहयोग र द्विपक्षीय सम्बन्ध अझ विस्तार गर्न आ-आफ्नो सरकारकातर्फबाट प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले एउटा ठूलो देश र उसको सानो छिमेकी देशबीच आपसी सम्मान र समानताका आधारमा रही कसरी सुदृढ सम्बन्ध कायम गर्न सकिन्छ भन्ने नमुना चीन-नेपाल सम्बन्धले प्रस्तुत गरेको चर्चा गरे । उनले नेपाली जनताले चुनेका सामाजिक व्यवस्था र विकासको बाटोलाई चीनले सम्मान गर्ने प्रतिबद्धता पनि जनाएका थिए । साथै, उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाल शान्ति र सामाजिक, आर्थिक रूपान्तरणलाई संस्थागत गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा चिनियाँ प्रधानमन्त्रीले नेपालमा हालै आएको बाढीबाट पीडित जनताको सहयोगार्थ चीनको तर्फबाट तीन लाख अमेरिकी डलर सहयोग गर्ने पनि घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले सो सहयोगका लागि चिनियाँ प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति हु जिन्ताओबीच आइतबार भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड चीनका राष्ट्रपति हुले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गरेको दिवाभोजमा समेत सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार नै बेइजिङ ओलम्पिकग्राममा गई शान्तिपर्खालमा हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपालका प्रधानमन्त्रीलाई ओलम्पिकग्रामका मेयरले स्वागत गर्दै ओलम्पिकग्रामले ओलम्पिक खेलकुदका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ओलम्पिकग्राममा रहेका नेपाली खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीलाई पनि भेटेका छन् । प्रचण्ड बेइजिङस्थित बर्ड नेस्टमा आयोजित उनन्तीसौं ओलम्पिक खेलकुद समापन समारोहमा सहभागी भएका भए । समापन समारोहमा प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की, निमित्त मुख्य सचिव माधव पौडेल, परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । रासस

कोशीमा बगेकाको दुई सय शव भेटियो

काठमाडौं । कोशीमा आएको बाढीमा पानीको बहाव घट्न थालेपछि बाढीले बगाएर ज्यान गुमाएका दुई सयभन्दा बढीको शव भारतको बिहार राज्यमा भेटिएको समाचार प्राप्त भएको छ । बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको विभिन्न गाउँमा ती शव शनिबार फेला पारिएको बताइएको छ । यद्यपि ती शव नेपालीका हुन् या भारतीयका भन्ने खुल्न सकेको छैन । स्थानीय साचारकर्मीहरु र सर्वसाधारणलाई उद्धृत गर्दै भारतीय साचार माध्यमले शव भेटिएको समाचार प्रकाशित गरिरहेका छन् । यसअघि सोही स्थानमा २७ वटा शव फेलापरेको पनि उनीहरुले जानकारी दिएका छन् । यद्यपि ती शव पनि कस्का हुन् भन्ने यकिन हुन नसके पनि शवको कपडा र अन्य हुलियाका आधारमा मृतकहरु नेपाली भएको आशंका गरिएको छ । यसबारे सुनसरी प्रशासनले केही बताएको छैन । सप्तकोशी डुबानबाट प्रभावित दुवै देशका बासिन्दाको हुलिया समान रहेकाले शव पहिचान गर्न कठिनाई भइरहेको भारतीय पक्षकाले बताएको छ । यद्यपि त्यसबारे अझै केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । ती शवको यकिन पहिचान गर्न शनिबार एक टोली गोप्य रुपमा त्यसतर्फ पठाएको बुझिएको छ । नेपालका चार गाविस डुबाएको कोशीको बाढीले भारतको हनुमाननगर अन्यहा अररिया पासवनपुर मनीपुर भवानीपुरलगायत स्थान पनि डुबाएको छ । जसका कारण त्यहाँका चार लाखभन्दा बढी स्थानीयबासी प्रभावित भएका छन् । यसैबीच हिजो सुनसरी जिल्ला अधिकारी दुर्गा भण्डारीले हजारौं डुबानपीडितलाई उद्धार गरिएको बताएका छन् । यता जनमोर्चा नेपाले कोशी बाँध फुट्नुमा भारत दोषी रहेको भन्दै सबै क्षतिपूर्ति भारतले बेहोर्नुपर्ने र नेपाली जनतासित माफी माग्नुपर्ने माग गरेको छ ।