काठमाडौं/ उपराष्ट्रपति परमानन्द झाको घरमा बम विस्फोट भएको छ । लोडसेडिङ भएको बेला आइतबार साँझ करिब साढे सात बजे मोटरसाइकलमा आएका दुईजनाले बम पड्काएका हुन् । विस्फोट हुँदा उपराष्ट्रपति झा सपरिवार घरभित्रै थिए । झा र उनका परिवार सकुशल छन् भने सुरक्षामा खटिएका एक सैनिक जवान घाइते भएका छन् । गम्भीर घाइते प्युठ श्रीप्रसाद सर्बुजालाई सैनिक अस्पतालमा भर्ना गरिएको छ । झाको घरको पछाडिपट्टबिाट बम हानिएको थियो । घटना भएलगत्तै उपराष्ट्रपतिको घरको निरीक्षणका लागि गृहसचिव उमेश मैनाली, प्रहरी महानिरीक्षक ओमविक्रम राणा, महानगरीय प्रहरी आयुक्त हेमबहादुर गुरुङ र महानगरीय प्रहरी परिसरका एसपी सर्वेन्द्र खनाललगायतका प्रमुख प्रहरी अधिकृतहरू गौरीघाटमा पुगेका थिए । प्रहरी स्रोतका अनुसार उप- राष्ट्रपतिको निवासमा आक्रमणकारीले सुतली बम प्रहार गरेका थिए । सेन्ट्रीपोस्टमुनि नै विस्फोट भएकाले सैनिक प्युठ घाइते भएका हुन् । विस्फोट भएलगत्तै बम प्रहार गर्ने समूह खोज्न र उपराष्ट्रपतिलाई सुरक्षा दिन व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अहिलेसम्म कसले बम पड्काएको हो सो पत्ता लगाउन सकेको छैन । महानगरीय प्रहरी प्रभागका अनुसार उपराष्ट्रपतिको निवास क्षेत्र सामान्य छ । विस्फोट गराउनेले घटनास्थलमा कुनै पर्चा र संकेत नछोडेको प्रहरी निरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनले भनिन्, 'हामी अनुसन्धान गरिरहेका छौं, तर यसैले घटना घटाएको हो भन्ने आधिकारिक कुनै तथ्य फेलापरेको छैन ।' उनका अनुसार विस्फोबाट उपराष्ट्रपतिको घरको एउटा झ्यालको सिसा फुटेको छ ।
एकै बेतमा सात सन्तान
कायरो/ इजिप्टको तटीय सहर अलेक्जान्दि्रयामा एउटी २७ वषीया महिलाले शनिबार एकै बेतमा सात सन्तान जन्माएकी छिन् । एल सात्वी अस्पतालका निर्देशक यमाद दार्बिसले गजला खामिस नामकी ती महिलाको स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् । ती सातै बच्चा अपरेसन गरेर जन्माइएका हुन् । नवजात शिशुमा चार छोरा र तीन छोरी छन् । उनीहरूको तौल ३.२ देखि ६.१७ पाउन्डसम्म रहेको दार्बिसले बताएका छन् । उनीहरूलाई चार विभिन्न अस्पतालका इन्कुवेटरमा राखिएको छ । 'यो अत्यन्त दुर्लभ गर्भावस्था हो । मेरो ३३ वर्षको व्यावसायिक जीवनमा मैले यस्तो कहिल्यै देखेको थिइनँ,' दार्बिस भन्छन् । आठ महिनाको गर्भावस्थामा मिर्गौलामा दबाब परेपछि दार्बिस खामिसको अपरेसन गर्ने निधोमा पुगेका थिए । खामिसका यसअघि तीन छोरी छन् । छोरा पाउने लोभमा उनले प्रजनन औषधि सेवन गरेकी थिइन् । फलस्वरूप अहिले सात सन्तान जन्माउन पुगिन् । उनी बेहैइरा प्रान्तका किसानकी श्रीमती हुन् । दुई महिनाअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 'प्रारम्भिक परीक्षणबाट यी शिशुमा कुनै पनि प्रकारको विकलांगता वा अपूर्ण अंग भएको देखिएन,' दार्बिस भन्छन् । इजिप्टका स्वास्थ्यमन्त्रीले यी शिशुलाई दुई वर्षसम्म निःशुल्क रूपमा दूध र डायपर उपलब्ध गराउने घोषणा गरेका छन् ।
कक्षाभित्र बन्दुक ल्याउन अनुमति
टेक्सास/ संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यको विद्यालय क्षेत्रमा शिक्ष्ाकलाई कक्षाकोठामा बन्दुक ल्याउन यस वर्षको शरद ऋतुदेखि अनुमति दिने जिल्ला निरीक्षकले शुक्रबार बताएका छन् । ग्रामीण क्ष्ाेत्रमा अवस्थित ह्यारोल्ड इन्डिपेन्डेन्ट स्कुलको बोर्डले शिक्ष्ाकलाई कक्षाकोठाभित्र बन्दुक ल्याउन पाउने नीतिलाई पारित गरेको जिल्लाका निरीक्षक डेभिड थेवेटले बताए । उनका अनुसार, अभिभावकले यसमा कुनै आपत्ति जनाएका छैनन् । ह्यारोल्डमा एक सय १० विद्यार्थी अध्ययनरत छन् । सुरक्षा पक्षलाई मध्यनजर गर्दै शिक्षकलाई कक्षा कोठामा बन्दुक ल्याउन दिइएको थेवेटले बताएका छन् । कक्षामा गोप्य रूपमा हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले बन्दुक दर्ता गर्नुका साथै विद्यालयबाट बन्दुक ल्याउने अनुमति लिनुपर्ने उनले बताए । कक्षाकोठाभित्र हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले जोखिमय स्थिति व्यवस्थापन तालिम लिएको हुनपर्नेछ । अमेरिकाका विद्यालयमा समयसमयमा बन्दुक प्रहार हुने गरेकाले विद्यालयको अनुमति लिएर विद्यार्थी र शिक्षकलाई गोप्य रूंपमा बन्दुक ल्याउने दिने माग उठिरहेको छ । एकपटक, अमेरिकी कंग्रेसले राष्ट्रव्यापी रूपमा हातेबन्दुकलाई विद्यालयमा प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकी सर्वाेच्च अदालतले बन्दुक बोक्न पाइने पक्षमा फैसला गर्यो । तर, राज्य तथा स्थानीय निकायले आफ्नो कानुन लागू गर्न पाउँछन् । टेक्सासमा विद्यालयको अनुमतिबिना हातेबन्दुक ल्याउन प्रतिबन्ध छ ।
Subscribe to:
Posts (Atom)